पर्यटकलाई बिरामी बनाइ ‘फेक रेस्क्यु’ गरेको समाचारप्रति सिआइवीको ध्यानाकर्षण

दियोपोस्ट संवाददाता  

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न राष्ट्रिय-अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ‘फेक रेस्क्यु’ सम्बन्धी प्रकाशित समाचारप्रति केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

ब्यूरोका अनुसार सगरमाथा क्षेत्रमा कार्यरत केही पथप्रदर्शक (गाइड) हरूले पर्यटकहरूको खानामा विषाक्त पदार्थ मिसाएर बिरामी बनाइ ‘फेक रेस्क्यु’ गर्ने गरेको भन्ने समाचारहरू सार्वजनिक भएका छन्। यस्ता समाचारहरूले जनचासो बढाए पनि हालसम्मको अनुसन्धानबाट उक्त आरोप पुष्टि हुने कुनै ठोस प्रमाण फेला नपरेको ब्यूरोले स्पष्ट पारेको छ।

ब्यूरोले विज्ञप्तिमार्फत अप्रमाणित र भ्रामक विषयवस्तु उद्धृत गरी सामाजिक सञ्जाल, फेसबुक पेज तथा सञ्चारमाध्यमहरूमा समाचार प्रकाशन र प्रसारण गर्नु गैरकानुनी कार्य हुन सक्ने चेतावनी दिएको छ। साथै यस्ता भ्रामक सामग्रीले पर्यटन क्षेत्रको छवि तथा सम्बन्धित व्यक्तिहरूको प्रतिष्ठामा नकारात्मक असर पार्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरोले तथ्यमा आधारित र जिम्मेवार पत्रकारिता गर्न सञ्चारमाध्यमहरूलाई अनुरोध गर्दै अपुष्ट समाचारहरू प्रकाशन नगर्न समेत आग्रह गरेको छ।