काठमाडौँ । दाङको देउखुरी क्षेत्रमा भएको कुटपिट घटनामा एक किशोरको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्। राप्ती गाउँपालिका–२ बरहाखुट्टी निवासी १७ वर्षीय स्मित प्रधानको शव शुक्रबार दिउँसो फेला परेको हो ।
प्रहरीका अनुसार बिहीबार राति करिब ८ बजेतिर राप्ती गाउँपालिका-१ पाँखापानीका १६ वर्षीय आयुष्मान थापा मगर र स्मित प्रधान साथीको घर जाने भन्दै घरबाट निस्किएका थिए। उनीहरू राप्ती गाउँपालिका-४ मौरीघाट क्षेत्रमा पुगेपछि दुई महिला र दुई अपरिचित पुरुषले कुटपिट गरेको बताइएको छ।
कुटपिटबाट आयुष्मान थापा मगरको ढाड, बायाँ आँखा, गाला र कानमा चोट लागेको छ। घाइते थापाको राप्ती आधारभूत अस्पताल सिसहनियामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले जानकारी दिएका छन्।
घटनाबारे बिहान करिब ४ बजे इलाका प्रहरी कार्यालय सिसहनियामा जानकारी पुगेपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रारम्भमा घाइते आयुष्मानले घटनाबारे खुलाउन नचाहे पनि पछि आफूसँगै स्मित प्रधान पनि रहेको बताएपछि प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो।
खोजीका क्रममा शुक्रबार दिउँसो घटनास्थलदेखि करिब डेढ किलोमिटर पूर्वतर्फ गोपी नाला नजिकै खोलाको सुक्खा बगरमा टाउकोमा चोट लागेको अवस्थामा स्मितको शव फेला परेको प्रहरी निरीक्षक ऐरीले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।