काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले सगरमाथा क्षेत्रमा पर्यटकलाई विषालु पदार्थ खुवाएर बिरामी बनाई ‘नक्कली उद्धार’ (Fake Rescue) गरिएको भनी आएका समाचारहरूको खण्डन गरेको छ। ब्यूरोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा प्रसारित यस्ता खबरहरूलाई ‘भ्रामक र तथ्यहीन’ ठहर गरेको हो।
ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हालसम्मको अनुसन्धानको क्रममा पर्यटकको खानामा विषाक्त चिजबस्तु मिसावट गरिएको भन्ने कुनै पनि तथ्य देखिएको छैन।”
पछिल्ला केही दिनयता विश्वका प्रतिष्ठित सञ्चारमाध्यमहरू: द टाइम्स, इन्डिपेन्डेन्ट, र न्यु योर्क पोस्ट लगायतले ‘हिमाली झुटाहरू’ (Hima-liars) जस्ता शीर्षकमा समाचार सम्प्रेषण गर्दै आएका थिए। ती समाचारहरूमा पथप्रदर्शक (गाइड) हरूले बीमा रकम असुल्न पर्यटकको खानामा बेकिङ सोडा वा अन्य हानिकारक वस्तु मिसाएर कृत्रिम ‘अल्टिच्युड सिकनेस’ गराएको दाबी गरिएको थियो।
तर, सीआईबीले आफ्नो विज्ञप्तिमार्फत उक्त दाबी अप्रमाणित भएको स्पष्ट पारेको छ।
विज्ञप्तिमा उल्लेख छ: “केन्द्रीय अनुसन्धान ब्यूरोले हालै गरेको पर्यटकको FAKE RESCUE सम्बन्धी अनुसन्धानसँग जोडेर सगरमाथा क्षेत्रमा पथप्रदर्शक (गाइड) हरुले पर्यटकहरुको खानामा विषाक्त चिजबस्तु मिसावट गराई बिरामी बनाएर FAKE RESCUE गरेको भनी समाचार सम्प्रेषण भएकोले ब्यूरोको गम्भीर ध्यानाकर्षण भएको छ।”
सीआईबीले अप्रमाणित र भ्रामक विषयवस्तु उद्धृत गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार माध्यम र फेसबुक पेजहरूमा समाचार प्रकाशन गर्नु गैरकानूनी भएको चेतावनी समेत दिएको छ। ब्यूरोले यस्ता तथ्यहीन समाचार प्रकाशन एवं सम्प्रेषण नगर्न र नगराउन सबैमा अनुरोध गरेको छ।
यद्यपि सीआईबीले ‘फेक रेस्क्यु’को नाममा भएको संगठित आर्थिक ठगी, कागजात कीर्ते र बीमा रकमको अनियमितताबारे सूक्ष्म अनुसन्धान गरिरहेको छ। यस प्रकरणमा ३२ जना विरुद्ध मुद्दा दायर भइसकेको छ। तर, विदेशी मिडियाले आर्थिक ठगीको पाटोलाई छोडेर “पर्यटकलाई विष खुवाइएको” भन्ने अमानवीय पाटोलाई मात्र सनसनीपूर्ण बनाएकाले नेपालको पर्यटन छविमा धक्का पुगेको भन्दै प्रहरीले आधिकारिक खण्डन गरेको हो।
