किरण पण्डितद्वारा डेपुटी गभर्नर पदको शपथ, राष्ट्र बैंकमा औपचारिक पदबहाली

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनले गभर्नर प्रा.डा. विश्वनाथ पौडेल समक्ष शपथ लिएका हुन्।

शपथ ग्रहणपछि उनले सोही दिनदेखि औपचारिक रूपमा पदबहाली समेत गरेका छन्। नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले २०८२ चैत २४ गते पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो। शपथ समारोहका अवसरमा गभर्नर पौडेलले पण्डितलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

पण्डितले २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा नेपाल राष्ट्र बैंकमा आफ्नो सेवा यात्रा सुरु गरेका थिए। त्यसपछि उनी २०६८ मा उप–निर्देशक, २०७४ मा निर्देशक र २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए। कार्यकारी निर्देशकको भूमिकामा रहँदा उनले भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्व गर्नुका साथै बैंकको प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए।