बुटवल । बुटबालमा कर्जा सुरक्षणसम्बन्धी एकदिने गोष्ठी तथा कर्जा दाबीसम्बन्धी सफ्टवेयर अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम निक्षेप तथा कर्जा सुरक्षण कोषको केन्द्रीय कार्यालय र शाखा कार्यालय बुटवलको संयुक्त आयोजनामा मंगलबार सम्पन्न गरिएको हो।
कार्यक्रममा प्रमुख प्रबन्धक विक्रान्त आचार्यले कोषले सञ्चालन गर्दै आएका आगामी कर्जा सुरक्षण कार्यक्रमबारे जानकारी गराएका थिए । त्यस्तै, सूचना प्रविधि विभाग प्रमुख राजु के.सी.ले कोषले नयाँ रूपमा सञ्चालनमा ल्याउन लागेको कर्जा सुरक्षणसम्बन्धी सफ्टवेयरबारे प्रस्तुती दिएका थिए ।
कोषले वार्षिक नीति तथा कार्यक्रमअनुसार बैंक तथा वित्तीय संस्थासँग निरन्तर संवाद र सहकार्य गर्दै बजारमा कर्जा सुरक्षणको आवश्यकता पहिचान गर्ने तथा विद्यमान कार्यक्रमका समस्या समाधानका लागि सुझाव संकलन गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा सबै प्रदेश समेट्ने गरी यस्ता गोष्ठी सञ्चालन गर्ने लक्ष्य राखेको जनाएको छ।
कार्यक्रममा ग्रामिण लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवाल, प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
गोष्ठीमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, विभिन्न लघुवित्त वित्तीय संस्थाहरु तथा अन्य बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। साथै कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे, नायव प्रमुख कार्यकारी अधिकृत उषा पौडेल, कर्जा विभागका प्रमुख प्रबन्धक विक्रान्त आचार्य, सूचना प्रविधि विभाग प्रमुख अधिकृत राजु के.सी. लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो।
