पाटनमा दुई दाजु-भाइमाथिको चक्कु प्रहारः सामान्य फोन विवाद हत्यामा परिणत

दियोपोस्ट संवाददाता  

काठमाडौँ । ललितपुरमा सामान्य फोन विवादबाट सुरु भएको सामान्य झगडाले दुई दाजुभाइको ज्यानै गएको छ। बुधबार साँझ पाटन दरबार स्क्वायर नजिकैको कृष्ण मन्दिर परिसरमा भएको चक्कु प्रहारबाट दुई दाजुभाइ ३३ वर्षीय सुमित नेम्बाङ र २६ वर्षीय सिर्जन नेम्बाङको ज्यान गएको हो ।

दुवै जनालाई गम्भीर अवस्थामा बीएन्डबी अस्पताल लगिएको थियो । जहाँ उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार घटनामा संलग्न सञ्जीव नेपालीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

प्रहरीका अनुसार घटनाको सुरुवात एक सामान्य फोन कलबाट भएको थियो। नेम्बाङ दाजुभाइले गरेको फोन गल्तीबस सञ्जीव नेपालीको मोबाइलमा पुगेपछि दुवै पक्षबीच भनाभन भएको थियो।

फोनमै विवाद बढ्दै जाँदा सञ्जीवले उनीहरूलाई पाटन आउन चुनौती दिएका थिए। त्यसपछि ललितपुरको इमाडोलमा बस्ने दाजुभाइ उनीसँग भेट गर्न पाटन पुगेका थिए।

प्रारम्भिक अनुसन्धानले देखाएअनुसार, दुवै पक्ष एकअर्काका लागि पूर्ण अपरिचित थिए। प्रहरीका अनुसार सुमित र सिर्जन विवाद मिलाउन र माफी माग्न त्यहाँ पुगेका थिए। तर, मासु पसलमा काम गर्ने सञ्जीव नेपालीले मासु काट्न प्रयोग हुने धारिलो हतियार प्रयोग गर्दै अचानक आक्रमण गरेका थिए।

पहिले सिर्जनमाथि चक्कु प्रहार गरिएको थियो। भाइमाथि आक्रमण भएपछि छुट्याउन पुगेका दाइ सुमितमाथि पनि छुरा प्रहार भएको प्रहरीले जनाएको छ।

घटनाबारे सूचना पाएलगत्तै सातदोबाटो र पुल्चोकबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यतिबेला दुवै दाजुभाइ गम्भीर घाइते अवस्थामा ढलेका थिए भने आरोपी भाग्ने क्रममा थिए।

प्रहरीका अनुसार सञ्जीव नेपालीलाई नजिकैको एक रेष्टुरेन्टमा लुक्ने क्रममा महिला प्रहरीले पक्राउ गरेकी थिइन्। पक्राउका क्रममा उनले ती महिला प्रहरीमाथि दुर्व्यवहार गर्ने प्रयाससमेत गरेको बताइएको छ।

प्रहरीका अनुसार मृतक दुवै दाजुभाइ ललितपुरको इमाडोल निवासी हुन्। उनीहरू आमालाई भेट्न लन्डन जाने तयारीमा थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।