काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ। पार्टीभित्र र बाहिरबाट उठेको विवाद तथा अनुशासनसम्बन्धी छानबिनपछि पार्टीले यस्तो निर्णय गरेको हो ।
पार्टी स्रोतका अनुसार साहले आफ्नी पत्नीलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनर्नियुक्त गराउन दबाब दिएको विषय सार्वजनिक भएपछि विवाद चर्किएको थियो। उक्त नियुक्ति प्रक्रियालाई लिएर व्यापक गुनासो आएपछि रास्वपाको अनुशासन आयोगले अध्ययन गरी कारबाही सिफारिस गरेको बताइएको छ।
अनुशासन आयोगले चैत २५ गते नै पार्टी नेतृत्वलाई कारबाहीका लागि सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा पार्टीले साहलाई मन्त्री पदबाट फिर्ता बोलाउने निर्णय गरेको जनाइएको छ।
यसअघि पनि साह विभिन्न विवादमा तानिएका थिए। विगतमा एमबीबीएस परीक्षामा पास गराइदिने भन्दै ठगी आरोपमा पक्राउ परेको घटनासमेत सार्वजनिक भएको थियो । जसका कारण उनी मन्त्री नियुक्त भएदेखि नै आलोचनामा थिए।
रास्वपाले कार्यसम्पादन कमजोर वा विवादमा परेका आफ्ना प्रतिनिधिलाई जुनसुकै बेला फिर्ता बोलाउने नीति लिएको छ। सोही नीतिअनुसार साहमाथि कारबाही प्रक्रिया अघि बढाइएको स्रोतको भनाइ छ।
प्रधानमन्त्री बालेन्द्र ‘बालेन’ शाह र पार्टी सभापति रवि लामिछानेबीच भएको परामर्शपछि साहलाई हटाउने सहमति बनेको बताइएको छ। अब श्रम मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ।
दीपककुमार साह हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी-२ बाट निर्वाचित भई मन्त्री नियुक्त भएका थिए।