उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरको सम्भावना बलियो

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुरको सम्भावना बलियो बन्दै गएको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उनलाई समर्थन गर्ने निर्णय गरेपछि उनको जित लगभग निश्चितजस्तै देखिएको हो ।

बिहीबार उपसभामुख पदका लागि निर्वाचन तय गरिएको छ । रास्वपाको समर्थनपछि ठाकुरको पक्षमा संसदमा दुई तिहाइभन्दा बढी मत पुग्ने अवस्था बनेको छ । प्रतिनिधिसभामा रास्वपा र श्रम संस्कृति पार्टीको संयुक्त संख्या नै बहुमतभन्दा धेरै भएकाले उनको जित सुनिश्चितजस्तै देखिएको हो ।

यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतका अन्य दलहरूले पनि ठाकुरलाई समर्थन गर्ने संकेत दिएका छन्, जसले उनको पक्ष अझ बलियो बनाएको छ । उक्त पदका लागि श्रम संस्कृति पार्टीकी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामाको उम्मेदवारी परेको छ ।

राजनीतिक समीकरण हेर्दा सत्ता र विपक्ष दुवै खेमाबाट समर्थन जुटेपछि राप्रपाकी लामा भने प्रतिस्पर्धामा कमजोर देखिएकी छन् ।

२५ वर्षीया ठाकुर हाल प्रतिनिधिसभाकी सबैभन्दा कम उमेरकी सांसद समेत हुन् । यदि उनी निर्वाचित भएमा नेपालकै कान्छी उपसभामुख बन्नेछिन् ।