‘रोडकिङ’ भन्दै सौराज गाडीको दादागिरी : दुर्घटना हुनेगरि यात्रु बोक्दा धादिङ प्रहरी मुकदर्शक

दियो पोस्ट  

दियोपोस्ट संवाददाता


धादिङ, १४ भदौ । सोमबार धादिङको ज्वालामुखि गाउँपालिका वडा नम्बर ५ खरिबाट धादिङवेशी तर्फ आउँदै गरेको आइचर कम्पनिको सौराज गाडी दुर्घटनामा पर्यो ।


निलकण्ठ ८ मुरलीभञ्ज्याङस्थित बगैँचामा भएको दुर्घटनामा ३५ जना भन्दा बढी घाइते भएका छन् ।


७ जना गम्भिर घाइतेलाई हेलिकोप्टर र एम्बुलेन्स मार्फत काठमाडौं पठाइएको छ । बाँकी विरामीको धादिङमै राखेर उपचार गरिँदैछ ।


यस घटनाले धादिङ प्रहरीको लापरबाहीलाई समेत छर्लङ्ग भएको छ । ग्रामिण सडकहरुमा चल्ने सौरजा कम्पनिका गाडीहरुले सडक ध्वस्त पारेका छन् । सिमेन्ट, बालुवा तथा खाध्यान्न लगायत सामन बोक्न प्रयोग हुने यो गाडीमा क्षमताभन्दा बढी मानिस चढाइने गरेको छ ।


सोमबार विहान दुर्घटनामा परेको उक्त आइचर ट्रकमा ३५ जनाभन्दा बढी मानिसहरु सवार थिए । क्षमताभन्दा बढी यात्रु बोकेपछि बगैँचा नजिकै ब्रेक फेल भएर नजिकैको टिफरमा ठक्कर खाएको थियो ।

ठक्करबाट टिफरमा समेत क्षती पुगेको छ । दुर्घटनाबाट घाइते भएकाहरुलाई २ वटा हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको छ । हेलिकोप्टरबाट काठमाडौं ल्याइएका मध्ये एक जनाको अवस्था गम्भिर भएपछि उनलाई बाँसबारीस्थित न्युरो अस्पताल लैजाने तयारी छ ।

तीन जनाको मात्रै विमा !


प्रहरीले यस्ता गाडीलाई लापरबाही रुपमा जथाभावी यात्रु बोक्ने अनुमति दिँदा घाइते माध्ये तीन जनाले मात्रै विमा दाबी भुक्तानी पाउने भएका छन् । उक्त ट्रक व्यावसायीले यदि विमा गराएको भएपनि यात्रुको विमा नहुने यातयात क्षेत्रका विज्ञहरु बताउँछन् । ‘गाडीको साउ अब उपचार खर्च तिर्न नसक्ने अवस्थामा पुग्ने छ । २५ जना घाइतेको उपचार गर्दा उनको गाडीको मुल्यको २ गुणा बढी खर्च हुन्छ । बिमा पनि चालकसहित २ जनाको मात्रै हुने व्यवस्था छ,’ एक व्यावसायीले भने,‘यस्तोमा गाडी गाडीका मालिक सडकमा पुग्ने अवस्था आएको छ ।’


प्रहरीले किन गर्दैन चेकिङ !


काठमाडौंमा सिट बेल्ट नलगाउँदा समेत सवारी चालकहरु कारबाहीमा पर्ने गर्दछन् । लेन क्रसको नाममा सवारी चालकले कारबाही भोग्नुपर्ने हुन्छ । तर, ग्रामिण क्षेत्रमा ढुवानी गर्ने सवारी साधनमा क्षमताभन्दा बढी यात्रु मनोमानी रुपमा सवार हुँदा पनि प्रहरी बेखबर जस्तै बनिरहेको छ । यसले ग्रामिण क्षेत्रमा सवारी दुर्घटना बढ्ने गरेको छ ।


खरिबाट धादिङवेशी आएको उक्त ट्रकमा यात्रुहरु भरिएर खचाखच आएको ज्वालामुखि गाउँपालिका कार्यालय नजिकै रहेको प्रहरी चौकीले चेकजाँच नै नगरि छाड्दा सोमबारको दुर्घटना भएको स्थानियबासी बताउँछन् । बर्खायामको समयमा बाटो हिलो हुने र हिलो बाटोमा यात्रा गर्दा सौराजकै सहारा लिनुपर्ने बाध्यता पनि गाउँघरका जनतामा छ ।


धादिङका एसपी भन्छन,–‘ट्रकमा यात्रु बोक्न पाइँदैन’


ट्रकमा यात्रु बोकेर हिँड्न लापरबाही पूर्वक छुट दिने जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रहरी उपरिक्षक महेन्द्र खड्कालाई सम्पर्क गर्दा उनले कसैलाई पनि त्यस्तो छुट नभएको बताए । ‘ट्रकमा मान्छे बोकेर हिँड्न कसैलाई छुट छैन । सार्वजनिक सवारी साधन बाहेक अरु साधनले यात्रु बोक्न पाउँदैनन्,’ उनले भने,‘तर गाउँतिर बाटो विग्रेको र जिपहरु जान नसक्ने अवस्था छ । आइचरका यस्ता गाडीलाई रोड किङ भन्ने रहेछन् । किङ अफ द रोड भनेर पहाड तथा विकटमा चलाउँदा रहेछन् । हामीले भेटेसम्म कारबाही गरेका छौँ ।’


उनले विकट स्थानमा प्रहरीको सञ्जाल नभएका कारण यस्ता दुर्घटना भएको बताए । तर, उक्त ट्रक सदरमुकाम धादिङ नजिकै दुर्घटनामा परेको हो ।
‘सबै ठाउँमा हाम्रो प्रहरी कार्यालय छैन । साँध भञ्ज्याङमा प्रहरी छ । तर, त्यतिबेला प्रहरी नभएको पनि हुनसक्छ । हामीले चेकजाँच गरेका छौँ,’ उनले भने,‘उनीहरु पनि प्रहरी देखेपछि मान्छे झारेर खाली गर्छन् । अलि पर पुगेपछि फेरी मान्छे राख्ने गर्छन् । प्रहरीलाई ढाँट्न पाए बहादुर हुन्छौँ भन्ने डाइभरको सोँच छ ।’
यस्ता घटनाले प्रहरीलाई गम्भिर बनाएको उनले बताए । खड्काका अनुसार प्रहरीले सवारी चालकलाई नियन्त्रणमा लिएको छ । गाडीका मालिक भने अझै प्रहरी सम्पर्कमा आएका छैनन् ।