प्रधानमन्त्री शाहद्वारा नेपाली सेनाका उत्कृष्ट अधिकृत क्याडेटहरु सम्मानित

दियोपोस्ट संवाददाता  

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका उत्कृष्ट अधिकृत क्याडेटहरुलाई सम्मान तथा पुरस्कृत गरेका छन्। भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित अधिकृत क्याडेट तालिम अन्तर्गत आयोजित आयुक्त पद प्रदान समारोहमा प्रधानमन्त्री शाहले उत्कृष्ट क्याडेटहरुलाई पुरस्कार प्रदान गरेका हुन्।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले करिब ३६ महिनाको कठिन र निरन्तर प्रशिक्षणपछि अधिकृत क्याडेटबाट अधिकृतको रूपमा आयुक्त पद हासिल गरेकोमा सबैलाई बधाई ज्ञापन गरे। साथै, त्रिभुवन विश्वविद्यालयबाट स्नातक तह पूरा गरी दीक्षित भएकोमा पनि उनले खुशी व्यक्त गरे।

उनले ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भन्ने भावनालाई आत्मसात् गर्दै मातृभूमि र जनताप्रति समर्पित भई आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्न आग्रह गरे। नयाँ जिम्मेवारी सम्हाल्दै गर्दा उच्च अनुशासन, समर्पण र कर्तव्यनिष्ठा आवश्यक रहेको उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले विभिन्न सामाजिक पृष्ठभूमिका जवानहरूको नेतृत्व गर्दै सक्षम, एकीकृत र सशक्त टोली निर्माण गर्न अधिकृत क्याडेटहरु सफल हुने विश्वास व्यक्त गरे। उनले दीक्षित अधिकृतहरुले सैनिक आचारसंहिता, चेन अफ कमाण्ड र अनुशासनलाई सदैव प्राथमिकतामा राख्नेमा विश्वास व्यक्त गरे।

उक्त अवसरमा अशोक राज सिग्देलले केन्या र जाम्बियाबाट आएका तीन जना प्रशिक्षार्थी अधिकृत क्याडेटहरुलाई नेपाली सैनिक प्रतिष्ठानको मेडल प्रदान गरे।

कार्यक्रममा विभिन्न समूहका १८३ अधिकृत क्याडेटहरुले आयुक्त पद प्रदान कबाज प्रदर्शन गरेका थिए।

नेपाली सेनाका अनुसार हालसम्म प्रतिष्ठानबाट ६ हजार ७४३ अधिकृत क्याडेट, १ हजार ६०८ प्राविधिक अधिकृत तथा ३२ विदेशी शिक्षार्थीले तालिम प्राप्त गरिसकेका छन्।