
काठमाडौं । कलाकारको भेषमा युरोप पठाउँछु भन्दै रकम ठगी गरेको आरोपमा कलाकार सुलेमान शंखर पक्राउ परेका छन् ।
ईकु नामले चिनिने उनलाई प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले पक्राउ गरेको हो । बिभिन्न देशहरुमा हुने नेपाली सांस्कृतिक कार्यक्रमहरुमा आवश्यक पर्ने कलाकारको रुपमा कलाकार भिषामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरुमा लैजाने भनि विशेषगरी भौगोलिक रुपमा विकट क्षेत्रका मानिसहरुलाई युरोपेली मुलुकहरुमा राम्रो काम पाईने र आम्दानी समेत सोही अनुरुप आकर्षक हुने प्रलोभन देखाएर उनले ठगी गरेका हुन् ।
उनको कम्पनि एसएमएस फिल्मस प्रा.लीको नाममा ग्लोबल आईएमई बैंकमा १५ देखि २० लाख रुपैयाँ जम्मा गर्न लगाएको खुलेको छ । कलाकार भिषामा विदेश पठाइदिने बहानामा उनले नक्कली भिषा बनाइदिने, नक्कली बैंक स्टेटमेन्ट लगायत कागजात तयार पार्ने गरिएको थियो । उनलाई सिआइबीले बुढानिलकण्ठस्थित हात्तिगौँडाबाट पक्राउ गररेको हो ।