प्रहरी संरक्षणमै मिटरव्याजी साम्राज्य : गजेन्द्र मास्केले यसरी बनाए सयौं परिवारलाई घरबारविहीन

दियोपोस्ट संवाददाता  

काठमाडौं । राजधानी काठमाडौंको नागर्जुन नगरपालिका-६, टौखेलस्थित एक कोलोनीमा बस्दै आएका मिटरव्याजी गजेन्द्र मास्केको अवैध कारोबार सार्वजनिक भएपछि प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। ‘राजधानीका मिटरव्याज किङ’ का रूपमा चिनिने मास्केले दशकौंदेखि सञ्चालन गर्दै आएको अनुचित लेनदेनले सयौं परिवारलाई घरबारविहीन बनाएको आरोप छ ।

यसमा प्रहरीको मौनता र सम्भावित संरक्षणले विषय झन् पेचिलो बनेको छ। राजधानीकै मुख्य क्षेत्रमा खुलेआम मिटरव्याज तथा संगठित आर्थिक अपराध सञ्चालन हुँदै आएको र त्यसमा केही प्रहरी अधिकारीहरूको संरक्षण रहेको आरोप लागेसँगै यो विषय राष्ट्रिय बहसको केन्द्रमा पुगेको हो ।

शक्ति, पहुँच र प्रहरी–प्रशासनसँगको सम्बन्ध प्रयोग गर्दै मास्केले आफ्नो अवैध धन्दा विस्तार गरेको आरोप छ । मास्केले चर्को ब्याजदरमा ऋण उपलब्ध गराउने तर अन्ततः ऋणीको घरजग्गा हड्प्ने उद्देश्य राख्ने गरेको पीडितहरूको आरोप छ।

सहयोगको आवरणमा ऋणीलाई जालमा पारेर जीवनभर ऋणको दास बनाउने उनको कार्यशैली अमानवीय रहेको बताइन्छ। लिएको रकमभन्दा कैयौं गुणा बढी तिरिसक्दा पनि ऋणमुक्त हुन नसकेका पीडितहरू बताउँछन् ।

अनुचित लेनदेन र आपराधिक लाभमा आधारित जीवनशैली बिताउँदै आएका मास्के गुण्डा तथा असामाजिक तत्वको घेरामा रहने गरेको आरोप छ।

मास्के निकट स्रोतका अनुसार उनले प्रहरीका केही उच्च अधिकारीहरूको साथ पाउँदै आएका छन् र अधिकांश समय प्रहरी वृत्त स्वयम्भू आसपास बिताउने गरेका छन्। यसले प्रहरी प्रशासनकै निष्पक्षतामाथि गम्भीर प्रश्न खडा गरेको छ।

नेपाल प्रहरीकै सेटिङ र संरक्षणमा मास्केले हजारौं परिवारलाई घरबारविहीन बनाएको विषय यसअघि पनि विभिन्न सञ्चारमाध्यममा पटक–पटक प्रकाशित भएका थिए । तर प्रभावकारी कारबाही हुन नसकेको पीडितहरु बताउँछन् ।

दैनिक ज्यालादारी र साना व्यवसायमार्फत जीवन धानिरहेका गरिब परिवारलाई आर्थिक मात्र होइन, जीवनभरको सपना नै गुमाउन बाध्य बनाएको आरोप छ। स्रोतका अनुसार मास्केले करिब १५ जनाभन्दा बढी व्यक्तिविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरी निरन्तर मानसिक दबाब दिँदै आएका छन्।

पीडितको मेहनतबाट संकलित पैसाले मास्केले नागर्जुन नगरपालिका-६, टौखेलस्थित विल्सन स्कुल नजिकै भव्य महल निर्माण गरेको स्रोतको दाबी छ। राजधानी काठमाडौंमै उनका आधा दर्जनभन्दा बढी आलिशान घर, प्रशस्त जग्गा र सवारीसाधन रहेको बताइन्छ ।

मास्केको अनुचित लेनदेनको जालोमा पर्नेहरूमध्ये नागर्जुनका गाईफार्म सञ्चालक कुमार लामिछाने पनि एक हुन्। व्यवसाय विस्तारको उद्देश्यले उनले मास्केसँग ७५ लाख रुपैयाँ ऋण लिएका थिए। तर सो ऋणको नाममा मास्केले करिब पाँच करोड रुपैयाँ बराबरको नगद र जग्गा असुलेको गम्भीर आरोप लागेको छ। एकपटक मिटरव्याजको जालोमा फसेपछि त्यहाँबाट उम्किन असम्भवजस्तै हुने पीडितहरू बताउँछन्।

यसैगरी नागर्जुनका चामल व्यापारी ताहिर हुसेन पनि मास्केबाट पीडित भएको स्रोतले जनाएको छ। यी घटनाहरूले अपराध नियन्त्रण र कानुनी कारबाहीको जिम्मेवारी पाएका निकाय स्वयं यस्ता अपराधीको संरक्षणमा उभिए भने सर्वसाधारणले कसरी शान्ति सुरक्षा र न्यायको भरोसा गर्ने भन्ने गम्भीर प्रश्न खडा गरेको छ।

केही भ्रष्ट प्रहरी अधिकारीका कारण इमान्दार र कर्तव्यनिष्ठ प्रहरीको छविमाथि समेत प्रश्न उठेको छ ।

अनुचित लेनदेनसम्बन्धी कानुनी व्यवस्था

कानुनअनुसार अनुचित लेनदेनअन्तर्गत झुट्टा लिखत तयार गर्ने, वास्तविक लेनदेनभन्दा बढी रकम देखाउने, ब्याजलाई सावामा जोड्ने, तोकिएकोभन्दा बढी ब्याज असुल्ने, धम्की तथा शारीरिक–मानसिक शोषण गर्ने, ऋणीको अचल सम्पत्ति हड्प्ने तथा दासवत् श्रम गराउनेजस्ता कार्य गम्भीर अपराध मानिन्छन् र यस्ता कार्यमा संलग्न व्यक्तिलाई कडा कानुनी कारबाहीको व्यवस्था गरिएको छ।

यस विषयमा मिटरव्याजी गजेन्द्र मास्केसँग सम्पर्क गर्दा उनले घुमाउरो भाषामा मिटरव्याजमा पैसा लगाएको स्वीकार गरेका छन्। उनले भने, “मैले ७५ लाख रुपैयाँ जग्गामा लगानी गरेको हुँ, त्यसको फाइदाबापत बढी मागेको हुँ। अब म धेरै बोल्दिनँ, वकिल लिएर आउँछु।” उनको यो भनाइले आफू कानुनी जोखिमप्रति सचेत रहेको संकेत गर्छ।

काठमाडौंको मुटुमा खुलेआम सञ्चालन भइरहेको यो अवैध धन्दा र त्यसमा प्रहरी संरक्षणको आरोप नेपाली समाजका लागि गम्भीर र लाजमर्दो विषय बनेको छ। यदि कानुन कार्यान्वयन गर्ने निकाय नै अपराधीको साथमा उभिन्छ भने सर्वसाधारणले न्याय कहाँ खोज्ने भन्ने प्रश्नको जवाफ खोज्नु अब अपरिहार्य बनेको छ।