समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

दियोपोस्ट संवाददाता  

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको व्यवस्थापनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। आयोगले सोमबार काठमाडौँको कान्तिपथमा आयोजित एक कार्यक्रमका बीच कार्यालय उद्घाटन गरेको हो ।

समानुपातिक प्रणाली तर्फका निर्वाचन अधिकृतको जिम्मेवारी सचिव महादेव पन्थले सम्हालेका छन्। साथै सहायक निर्वाचन अधिकृतका रूपमा सहसचिव यज्ञप्रसाद भट्टराईलाई तोकिएको छ। समानुपातिक निर्वाचन व्यवस्थापनका लागि कुल ४१ जना कर्मचारी परिचालन हुने आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

उद्घाटन समारोहमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समानुपातिक प्रणालीसम्बन्धी सबै कार्य निर्वाचन अधिकृतको कार्यालयमार्फत हुने भएकाले यसले सरोकारवालालाई सहज हुने विश्वास व्यक्त गरे। उनले कानुनअनुसार राष्ट्रिय तथ्यांक कार्यालयको सहयोगमा जातीय, भौगोलिक, लैङ्गिक लगायतका समुह विभाजनका आधारमा प्रतिनिधि चयन गरिने भएकाले सबै पक्षको भरोसा बढ्ने बताए।

यसै दिन अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुनमन्त्री अनिलकुमार सिन्हाले आयोगसँग आगामी निर्वाचनका पूर्वतयारी र सरकारले प्रदान गर्नुपर्ने सहयोगबारे छलफल गरेका थिए ।

छलफलका क्रममा अर्थमन्त्री खनालले निर्वाचनका लागि आवश्यक बजेट अभाव हुन नदिने प्रतिवद्धता जनाए। कानुनमन्त्री सिन्हाले आवश्यक कानूनी सहयोग उपलब्ध गराउने र निर्वाचन प्रक्रियामा स्वदेशी वस्तुको प्रयोगमा जोड दिन आग्रह गरे।

यी छलफल तथा तयारीहरूले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न थप सहयोग पुगेको आयोगले जनाएको छ।

उक्त कार्यक्रममा निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर, सगुन शम्शेर जबरा तथा सचिव महादेव पन्थलगायतको उपस्थिति थियो।

सिफारिस