काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको हत्या गर्ने धम्कीपूर्ण पत्र अख्तियारमै पठाएको कथित उग्रवादी समुह नेपालले अन्य व्यक्तिको सुची समेत सार्वजनिक गरेको छ ।
दियोपोस्टलाई प्राप्त सुची अनुसार यो समुहले पहिलो नम्बरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्कीको नाम राखेको छ । कार्कीले गैरकानुनी रुपमा नियुक्ती लिई अख्तियारबाट विभिन्न अवैध कार्य गरेको आरोप उनीहरुले लगाएका छन् ।
त्यस्तै नेपाल आयल निगमका पूर्व महाप्रबन्धक तथा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका गोपाल बहादुर खड्काको नाम पनि सुचीमा देखिन्छ । नेपाल आयल निगमको जग्गा घोटालामा संलग्न भएको आरोप उनीमाथि लगाइएको छ । त्यस्तै यो समुहले दुर्गा प्रसाइँको नाम समेत सुचीमा राखेको छ । दुर्गामाथि भने अस्थिर, योजनाविहिन, अशिक्षित र सरकारलाई अस्थिर बनाएको आरोप यो समुहले लगाएको छ ।

विभिन्न झूटा सुचना सार्वजनिक गरेर शक्तिमा आउने दुष्प्रयास गरेको यो समुहको आरोप छ । उनलाई सबैभन्दा ठूलो मेडिकल माफियाको आरोप समेत यो समुहले लगाएको छ ।
अख्तियारका प्रमुख आयुक्तलाई १० दिन भित्र राजिनामा नदिए हत्या गर्ने धम्की दिएको समुहले उनीमाथि ठूला भ्रष्टाचारमा संलग्न भएको आरोप लगाएको छ । वाइडबडी विमान खरिद, आयल निगम जग्गा खरिद प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको यो समुहले राईमाथि आरोप लगाएको छ ।
त्यस्तै, निवर्तमान गृहमन्त्री रमेश लेखकलाई भने जेनजी आन्दोलनमा गैरकानुनी दमन गरेको, सर्वोच्च अदालतमा न्यायधीश भर्तिका क्रममा दलीय कोटा निर्धारणमा संलग्न भएको आरोपमा सुचीमा समावेश गरिएको छ । सुडान घोटाला प्रकरणमा २८ करोड भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट समेत दोषी ठहर भएका पूर्व आइजी ओम विक्रम राणा, हेम बहादुर गुरुङ र रमेश चन्द ठकुरीको नाम पनि समावेश गरेको छ ।

नक्कली भुटानी प्रकरणमा संलग्न भएको भन्दै यसअघि कारागारबाट छुटेका बालकृष्ण खाँडलाई पनि सुचीमा राखेको देखिन्छ । त्यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवा पत्नि आरजु देउवा राणाको नाम समेत संलग्न छ । उनीमाथि नक्कली भुटानी शरणार्थी र टिकापुर जग्गा प्रकरणमा मुछिएको आरोप लगाइएको छ ।
यो समुहका केही सदस्यलाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेसँगै यो समुहका संयोजक प्रकाश पाठकले सामाजिक सञ्जाल मार्फत भिडियो सन्देश जारी गरेका छन् । ‘एक्सट्रिमिस्ट ग्रुप नेपाल’ (ईजिएन) नामक समुहले राज्यका विभिन्न निकायमा बसेका पूर्व पदाधिकारीसहित बाहालवाला अधिकारी समेतलाई आफूहरुले हत्या गर्ने भन्दै सुची तयार पारेको हो । यो समुहबारे राष्ट्रिय अनुसन्धान विभाग, उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरीले संयुक्त अनुसन्धान गरिरहेको छ ।
जेनजी आन्दोलनपछि नेपालको परिस्थिति संक्रमणमा गुज्रेकाले पनि यस्ता समुहमाथि राज्यले संवेदनशिल रुपमा अनुसन्धान थालेको हो । विशेषगरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई नै ज्यान मार्ने धम्की दिएपछि राज्यका निकायहरुको चासो बढेको छ ।
जेलबाट भागेका कैदीहरु मार्फत राईको ज्यान लिने र कैदीहरुलाई आर्थिक रुपमा सहायता उपलब्ध गराउने धम्की दिएपछि राज्यका निकायहरु चनाखो बनेका छन् । जेनजी आन्दोलनपछि फरार भएका ४ हजार ८ सय ५७ कैदी अझै कारागार फर्किएका छैनन् । जेनजी आन्दोलनका क्रममा लुटिएका करिब ७ सय हतियार हालसम्म फिर्ता भएको छैन । यस्तो अवस्थामा राज्यकै उपल्लो निकायमा बसेका व्यक्तिहरुमाथि नै हत्याको धम्की आएपछि राज्यलाई अनुन्धानको चटारो परेको हो ।