काठमाडौं । नेपाली कांग्रेसले आउँदो पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ। सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनसम्बन्धी कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेको हो।
बैठकले वर्तमान कार्यसमितिको अवधि माघसम्मका लागि थप गर्ने निर्णय पनि गरेको छ।
पारित कार्यतालिका अनुसार कांग्रेसले पुस १६ गते वडा अधिवेशन गर्नेछ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठकमा प्रस्तुत गरेको कार्यतालिकाअनुसार गाउँ–नगर अधिवेशन पुस १७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते तथा एकमात्र प्रतिनिधिसभा क्षेत्र भएको जिल्लामा पुस २१ गते अधिवेशन हुनेछ।
त्यस्तै, एकभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा जिल्ला अधिवेशन पुस २२ गते हुने छ। कांग्रेसको प्रदेश अधिवेशन भने पुस २३ र २४ गते हुने जानकारी कार्यवाहक सभापति खड्काले बैठकमा दिए।