काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष (अशोक राई), राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष (राजेन्द्र महतो) र नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीबीच चुनावी गठबन्धन गर्ने सहमति भएको छ । तीनै दलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन मा एउटै चुनाव चिह्न प्रयोग गरी चुनाव लड्ने निर्णय गरेका हुन् ।
गठबन्धनमा आबद्ध दलहरूले नागरिक उन्मुक्ति पार्टीको चुनाव चिह्न ‘जाँतो’ प्रयोग गर्ने सहमति गरेका छन् । उनहरुले निर्वाचन आयोगलाई यससम्बन्धी जानकारी समेत गराइकेका छन् ।
नेताहरूबीच भएको सहमतिअनुसार यो गठबन्धन तत्कालका लागि चुनावी तालमेलमा केन्द्रित रहने बताइएको छ ।
आपसी मत विभाजन रोक्ने, मधेश र सीमान्तकृत समुदायका मुद्दालाई साझा रूपमा अघि बढाउने तथा वैकल्पिक राजनीतिक शक्तिलाई मजबुत बनाउने उद्देश्यले एउटै चुनाव चिह्नबाट चुनाव लड्ने निर्णय गरिएको नेताहरूको भनाइ उद्धृत गरिएको छ । यद्यपि, यसलाई दलगत एकीकरणका रूपमा भने नलिइने स्पष्ट पारिएको छ ।
गठबन्धनमा सहभागी दलहरूले समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाइसकेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । तर, बन्द सूचीमा समावेश गरिएका उम्मेदवारहरूको पूर्ण नामावली सार्वजनिक भइसकेको छैन । आयोगले सबै दलका बन्द सूचीहरू औपचारिक रूपमा सार्वजनिक गरेपछि मात्र नामहरू स्पष्ट हुने बताइएको छ ।
राजनीतिक विश्लेषकहरूले यो गठबन्धनलाई आगामी निर्वाचनमा नयाँ समीकरणको संकेतका रूपमा हेरेका छन् । विशेष गरी मधेश केन्द्रित तथा क्षेत्रीय राजनीतिमा यसको प्रभाव कस्तो पर्छ भन्ने विषय चासोको रूपमा हेरिएको छ ।