यस्ता छन्,-रास्वपाका समानुपातिक उम्मेद्वार, चर्चित कलाकारदेखि खेलाडीसम्म

दियोपोस्ट संवाददाता  

काठमाडौँ । विभिन्न राजनीतिक दलहरूले सोमबार मध्यरातसम्म प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा पेश गरेका छन्। सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि आफ्नो समानुपातिक उम्मेदवारको बन्द सूची आयोगमा बुझाएको छ।

रास्वपाले बुझाएको ११० जनाको सूचीमा परम्परागत राजनीतिक पृष्ठभूमिभन्दा बाहिरका, विभिन्न पेशा तथा क्षेत्रबाट आएका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। पार्टीले राजनीतिमा नयाँ अनुहार भित्र्याउने उद्देश्यअनुसार चिकित्सक, कलाकार, खेलाडी, उद्योगी तथा फिल्म क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई समानुपातिक सूचीमा समेटेको छ।

रास्वपाले चर्चित गायक प्रकाश सपूत, पूर्व राष्ट्रिय क्रिकेट टोली कप्तान ज्ञानेन्द्र मल्ल, फिल्म निर्माता आसिफ शाह, अभिनेत्री रिमा विश्वकर्मा, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी समेत सिफारिस भएका छन् । आदिबासी सुचीमा गायिका सत्यकला राई समेत रहेकी छन् । रास्वपाले चमार समुदायका तर्फबाट पहिलो पटक डाक्टर बनेका डा.रामजी राम लाई समेत समानुपातिक सुचीमा समेटेको छ ।

पार्टी स्रोतका अनुसार बन्द सूची तयार गर्दा समावेशिता, पेशागत विविधता र नयाँ सोचलाई प्राथमिकता दिइएको छ। राजनीतिमा प्रत्यक्ष संलग्न नहुँदै समाजका विभिन्न क्षेत्रमा योगदान दिँदै आएका व्यक्तिहरूलाई अवसर दिनु रास्वपाको प्रमुख रणनीति रहेको बताइएको छ।

रास्वपाको समानुपातिक सूचीमा महिला, आदिवासी जनजाति, दलित, मधेसी, थारू तथा खस-समुदायबाट उम्मेदवारहरू समावेश गरिएको छ। यसले संविधानले व्यवस्था गरेको समावेशी प्रतिनिधित्वलाई ध्यानमा राखिएको देखिन्छ।

पार्टी नेतृत्वले समानुपातिक प्रणालीमार्फत संसद्मा नयाँ सोच, व्यावसायिक अनुभव र फरक दृष्टिकोण बोकेका व्यक्तिहरूको उपस्थिति गराउने लक्ष्य लिएको जनाएको छ।

निर्वाचन आयोगले दलहरूले बुझाएका बन्द सूचीहरूको प्रारम्भिक अध्ययनपछि कानुनी प्रक्रिया अनुसार अन्तिम नामावली सार्वजनिक गर्ने जनाएको छ।