रास्वपामाथि पूर्वएआइजी पोखरेलको ‘फट्याइँ’ : प्रत्यक्ष उम्मेदवार हुँ भन्दै ओखलढुङ्गाका जनता झुक्याउँदै !

दियोपोस्ट संवाददाता  

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बिभिन्न साना ठुला राजनीतिक दलहरुले भर्खरै मात्र निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्द सुची पेश गरेका छन् । पार्टीहरु समानुपातिक उम्मेद्वारको टुङ्गो लगाउन कसरतमा छन् ।

यस्तो अवस्थामा कुनै पनि पार्टीले प्रत्यक्ष निर्वाचनका लागि उम्मेद्वार टुङ्गो लगाएका छैनन् । तर, केही समय अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले भने आफू रास्वपाको सांसदका लागि उम्मेद्वार भएको दाबी गर्दै सार्वजनिक रुपमा गाउँ गाउँमा गई भोट मागिरहेका छन् ।

तत्कालिन नेपाली कांग्रेस र नेकपा एमालेको फेरो समातेर रकेट शैलीमा बढुवा हुँदै ईमान्दार प्रहरी अधिकृतहरुमाथि अन्याय गर्दै अन्तिममा एमाले सरकारकै जोडबलमा १८ महिना अघि एआइजी बनेका पोखरेल अहिले रास्वपमा प्रवेश गरेर जनतालाई झुक्याउँदै छन् ।

पोखरेलले ओखलढुङ्गा जिल्लाका विभिन्न स्थानमा बिभिन्न भेटघाट तथा छलफल कार्यक्रम आयोजना गरि आफू रास्वपाको सांसदको उम्मेद्वार भएको भन्दै मत मागिरहेको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

उक्त भिडियोमा पोखरेलले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी आफूलाई रास्वपाले प्रत्यक्ष चुनाव लड्नका लागि टिकट दिएको बताएका छन् । उनले स्थानीयसंग सहयोगसहित भोट समेत मागिरहेको देख्न सकिन्छ ।

सो अवसरमा उनले पुराना राजनीतिक पार्टीको आलोचना समेत गर्न भ्याएका छन् । पूराना राजनीतिक पार्टी खराब रहेको भन्दै आफुले चुनाब जितेको खण्डमा देशको विकास र जनाताका पक्षमा राम्रो काम गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने हालसम्म प्रत्यक्ष निर्वाचनतर्फ कुनै पनि उम्मेद्वारको टुङ्गो नलगाएको स्पष्ट पारेको छ । पार्टी सचिवालयका अनुसार समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया नै अन्तिम चरणमा नपुगेकाले प्रत्यक्षतर्फका उम्मेद्वार तय गर्न अझै समय लाग्ने छ ।

पार्टी निर्णयभन्दा अगाडि बढेर गरिएको यस्तो गतिविधिले संगठनात्मक मर्यादा उल्लंघन गरेको भन्दै रास्वापाको आलोचना भइरहेको छ । उम्मेद्वार छनोट प्रक्रिया चलिरहेकै बेला व्यक्तिले आफैँलाई उम्मेद्वार घोषणा गर्नु गलत भएको एक कार्यकर्ता बताउँछन् ।

नयाँ पार्टीको रूपमा आफूलाई वैकल्पिक र अनुशासित शक्तिका रूपमा स्थापित गर्ने प्रयासमा रहेको रास्वपाका लागि यस्ता गतिविधि चुनौतीपूर्ण बन्ने आंकलन गर्न थालिएको छ । उम्मेद्वार छनोट जस्तो संवेदनशील विषयमा स्पष्ट मापदण्ड र पार्टी निर्णयको सम्मान नहुँदा नेतृत्व कमजोर देखिन सक्ने रास्वपाकै नेता कार्यकर्ताको भनाई छ ।

पार्टी स्रोतका अनुसार रास्वपाले आधिकारिक निर्णयबिनाका गतिविधिबारे आन्तरिक छलफल गरिरहेको छ । उम्मेद्वार छनोट प्रक्रिया पारदर्शी र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले पार्टीले सबै आकांक्षीलाई समान अवसर दिने नीति लिएको जनाउँदै आएको छ । त्यसैले औपचारिक घोषणा नभएसम्म कसैलाई पनि उम्मेद्वारका रूपमा प्रस्तुत नगर्न पार्टीले आग्रह गर्दै आएको छ ।

यसबीच, पोखरेलको गतिविधिलाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा आलोचना सुरु भएको छ । कतिपयले यसलाई व्यक्तिगत प्रचारको प्रयास भनेका छन् भने कतिपयले पार्टी नेतृत्वको कमजोरीको संकेतका रूपमा व्याख्या गरेका छन् ।

रास्वपाले आगामी दिनमा उम्मेद्वार छनोट प्रक्रियालाई कसरी अगाडि बढाउँछ र यस्ता स्वघोषणाका विषयमा के निर्णय लिन्छ भन्ने विषय चासोको रूपमा हेरिएको छ । उम्मेद्वार छनोट प्रक्रिया सुरु नहुँदै पूर्व एआइजीले भोट माग्नु रास्वपाको आन्तरिक व्यवस्थापन र अनुशासनमाथि थप बहस सुरु भएको छ ।

पार्टीले उम्मेद्वार टुङ्गो नलगाएको अवस्थामा यसरी उम्मेद्वारको स्वघोषणा गर्दै भोट माग्नुले पार्टीको आन्तरिक अनुशासन र निर्णय प्रक्रियामाथि समेत प्रश्न उठाएको छ । त्यसो त उनी रास्वपाको अनुशासन आयोगको सल्लाहकार समेत हुन् ।

 

एमाले र कांग्रेस बनेर प्रहरीमा गरेका थिए उछालकुद !

पूर्व एआइजी पोखरेल २०४९ चैत १२ गते प्रहरी निरीक्षक (इन्सपेक्टर) पदबाट भर्ना हुँदा उनी आठौं नम्बरमा थिए । उनकै ब्याची धिरज प्रताप सिंह भने एक नम्बरमा थिए । जो पछि नेपाल प्रहरीको महानिरिक्षक समेत नियुक्त भए र

त्यसपछि २०६२ साउन ११ गते प्रहरी नायब उपरीक्षक(डिएसपी)मा बढुवा हुँदा पनि धिरज प्रताप सिंह एक नम्बरमै थिए भने पोखरेल २४ नम्बरमा पुगेका थिए । त्यसपछि उनीहरूको समूहको २०६९ माघ ११ गते एसपीमा बढुवा भयो । उक्त बढुवामा पनि धिरज नै एक नम्बरमै रहँदा पोखरेल भने ७ नम्बरमा थिए । २०७४ मा एसएसपी बढुवामा भने तत्कालिन नेपाली कांग्रेसका केही नेताहरुलाई चाकडी गरेर उनी एक नबरमा बढुवा भएका थिए । एसएसपी बढुवा भएपछि उनी कांग्रेस सभापति शेर बहादुर देउवालाई खुसी बनाउनका लागि तत्कालिन डिआइजी नवराज सिलवाललाई पक्राउ गर्ने जिम्मा लिएर काठमाडौं प्रहरी परिसर प्रमुख समेत सरुवा भएर आएका थिए । तर, सिलवाललाई पक्राउ गर्नुको सट्टा एमाले नेताहरुसँग हिमचिम बढाउन पुगेका थिए । एमाले नेता ईश्वर पोखरेलकै शरणमा पुगेर उनले बढुवा पाएका थिए ।

एसएसपीबाट बढुवा भएर प्रहरी नायब महानिरीक्षक(डिआइजी)मा पुग्दा भने उनको रकेट यात्रा नै सुरु भएको थियो। २०७५ कात्तिक १० गते काभ्रेमा तत्कालीन डिआइजी सुशील भण्डारीको सवारी दुर्घटनामा निधन भएको थियो । उनको मृत्यु भएपछि रिक्त ठाउँमा तत्कालीन सरकारले २०७६ वैशाख १९ गते पोखरेललाई नियुक्त गरेको थियो । जसमा उनले आफूभन्दा अघिल्लो ब्याजका एसएसपीहरूलाई अन्याय गरेका थिए ।

त्यति बेला पोखरेलभन्दा अघिल्लो ब्याजका गणेश ऐर, पुरुषोत्तम कँडेल, डा. देवबहादुर बोहरा, किशोर दाहाल, राजेन्द्र चौधरी, नवराज भट्ट, रामकृपाल शाह, उमेश रञ्जितकार, वीरेन्द्र बस्याल र सौरभ राणा एसएसपी थिए । उनीहरूलाई अन्याय गरेर उनले एमाले नेतालाई खुसी बनाए बापत डिआइजीको उपाधी पाएका थिए ।

त्यसपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई आइजिपी बनाउन थप कदम चाल्यो । २०७७ मंसिरमा पोखरेलकै लागि थप एक एआइजीको दरबन्दी सिर्जना गरेर उनलाई बढुवा गरिएको थियो । कोरोना महामारीको समयमा ओली सरकारलाई अदालत मार्फत सहयोगी भूमिका निभाई रहेका तत्कालिन प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराको घरमा ग्याँस, पानी लगायत बोकेर पोखरेल आफै पुगेको तत्कालिन प्रहरी अधिकरीहरु बताउँछन् । तत्कालिन सर्वोच्च अदालतले ओली सरकारले गरेको संसद विघटन बदर गर्दै कांग्रेस सभापति शेर बहादुर देउवाको नेतृत्वमा सरकार बनाउन अन्तरिम आदेश दिएपछि प्रहरीको कमाण्ड कन्ट्रोल समेत पुन सिस्टममा आएको थियो । तत्कालिन प्रधानमन्त्री देउवाले ओली सरकारका पालामा बिग्रिएको प्रहरीको कमाण्ड सुधारेर सिंहलाई प्रहरी महानिरिक्षक नियुक्त गरेको थियो ।

एमाले नेतृत्वले प्रहरी महानिरीक्षक बनाउन ठुलै आड र संरक्षण दिएका पोखरेलले रास्वपा मार्फत आफू नयाँ भएको र आफूलाई मत दिए जनताको सबै समस्या हल गर्ने झूटो आश्वासन दिन थालेका छन् । निर्माण मजदुरसँग हात मिलाएर उनले मजदुरको हात चिल्लो बनाइदिने झुटो आश्वासन समेत दिन भ्याएका छन् ।

प्रवक्ता मनिस झा भन्छन्,‘उम्मेद्वार हुँ भनेर अहिले भोट माग्न मिल्दैन’

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिस झाले पार्टीले उम्मेदवार टुंगो नलगाउँदै कुनै पनि व्यक्तिले आफुलाई पार्टीले आधिकारीक उम्मेदवार खटाएको भन्दै भोट माग्न नमिल्ने बताए । ‘जस्तै मैले धनुसा ३ बाट मेरो उम्मेदवारी रहने छ भनेर दाबी गर्न मिल्छ । तर, पार्टीले उम्मेदवार टुंगो नलगाउँदै मैले मेरो चुनावी प्रचार गर्न मिल्दैन । कसले प्रचार गरेको छ त्यसको प्रमाण पठाउनु होला,’ झाले दियोपोस्टसँग भने,‘अहिले पार्टीले कसैलाई पनि प्रत्यक्ष उम्मेदवार भनेर किटान गरेको छैन । आफुखुसी गर्न पार्टी अनुशासन विपरित हो ।’

सिफारिस