डा.मित्र परियारलाई ‘समानुपातिक’ उम्मेद्वारमा सिफारिस गरेपछि नेकपामा पार्टीभित्रै आलोचना सुरु

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले डा.मित्र परियारलाई समानुपातिकतर्फ पहिलो नम्बरमा बन्द सूचीमा सिफारिस गरेपछि पार्टीभित्रैबाट तीव्र विरोध सुरु भएको छ। दशकौँदेखि पार्टी र संगठनमा योगदान दिँदै आएका कार्यकर्ताहरूलाई पन्छाएर केही दिनअघि मात्रै पार्टी प्रवेश गरेका व्यक्तिलाई प्राथमिकतामा राखिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको हो।

डा. परियार यसअघि प्रचण्ड र उनको नेतृत्वको माओवादी पार्टीका आलोचकका रूपमा चिनिँदै आएका थिए। उनी धरानका मेयर हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्षसमेत बनेका थिए।

आफ्नै अभिब्यक्तिका कारण उक्त पार्टीबाट कारबाहीमा परेपछि केही दिनअघि मात्रै नेकपामा प्रवेश गरेका परियारलाई प्रवेशलगत्तै केन्द्रीय सदस्य बनाउँदै समानुपातिक उम्मेद्वारको पहिलो नम्बरमा राखिएको निर्णयले पार्टीभित्र विवाद सिर्जना गरेको छ।

नेकपा माओवादी कपिलबस्तुस्थित शिवराज नगरपालिकाका तत्कालिन पूर्व कार्यबाहक अध्यक्ष चिन्ता परियारले सामाजिक सञ्जालमार्फत कडा आलोचना गर्दै पार्टीले गलत व्यक्तिलाई सिफारिस गरेको बताएका छन्। उनले लेखेका छन्, ‘युरोपेली क्रिश्चियनको लगानीमा प्रारम्भिकदेखि उच्च शिक्षा अध्ययन गरेका, जीवनभर माओवादीलाई सराप्ने, एउटा पार्टीले कारबाही गरेर निष्कासन गरेका, परिवार विदेशमा छोडेर नेपालमा निश्चित मिसन पूरा गर्न दलितको नाममा हिन्दु सम्प्रदायमाथि धावा बोल्दै आएका मित्र परियारलाई पार्टीले के कति कारणले एक हप्तामै केन्द्रीय सदस्य हुँदै समानुपातिकको १ नम्बरमा राख्यो?’

परियारले पार्टीको यो निर्णयले ६० लाख दलित समुदायमाथि अन्याय भएको भन्दै प्रश्न उठाएका छन्। ‘बिधि हुन्छ, मापदण्ड हुन्छ, योगदान र संगठन हुन्छ। यस्ता हचुवाको भरमा राजनीति चल्दैन। यस्तै कारणले पार्टी बिग्रिन्छ,’ उनले टिप्पणी गरेका छन्।

चिन्ता परियार मात्र होइन, पार्टीका अन्य पुराना नेता तथा कार्यकर्ताहरूले पनि आन्तरिक छलफल र सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाइरहेका छन्। उनीहरूले लामो समयदेखि पार्टीका लागि योगदान पुर्‍याउँदै आएका कार्यकर्तालाई बेवास्ता गर्दै नयाँ प्रवेशकर्तालाई उच्च प्राथमिकता दिनु पार्टीको सिद्धान्त र संगठनात्मक मूल्यविपरीत भएको बताएका छन्।

दलित मुक्ती मोर्चा रुपन्देही जिल्ला कमिटि इन्चार्ज तथा नेकपा जिल्ला सदस्य समेत रहेका पदम बिश्वकर्माले डा. मित्र परियारको नाम समानुपातिक सुचीमा समावेश गरिनु पार्टीको गलत निर्णय भएको बताए । उनले भने, ‘पार्टीको यस्तो निर्णयले दुख लागेको छ । जसले त्याग गर्यो, बलिदानी गर्यो, परिवर्तनका लागि घर परिवार छोड्यो उसले केही पाएन । तर एक्कासी मित्र परियारको नाम पहिलो नम्बरमा देखे पछि निकै नमज्जा लाग्यो ।’

मित्र परियारलाई प्राथमिकतामा राखेर बलिदानीबाट आएका कार्यकर्तामाथि अन्याय भएको उनले बताए । ‘हामीले बिगतदेखि पार्टी र संगठन निर्माणका लागि गरेको दुख पार्टीले देखेन । हामीले गरेको त्याग र बलिदानी प्रति अन्याय भयो । यो प्रचण्डकै गैर जिम्मेवारी हो । हामी दुखी छौँ,’ उनले भने ।

मित्र परियारलाई पार्टीले सिफरिस गरेर पार्टीले युवा र दलितहरुमाथि अपमान गरेको उनको आरोप छ ।

नेकपाका बाग्मति प्रदेश सचिवालय सदस्य गणेश बिके भन्छन्, ‘पार्टीभित्र जनयुद्ध कालदेखि नै लामो समय संघर्ष र योगदान गरेर आएको बिशाल समुह छ । पार्टीको यो निर्णयले त्यो समुहमाथि अन्याय गरेको छ ।’

मित्र परियारलाई सिफारिस गर्नु पूर्व पार्टीभित्रै अवसर नपाएका दलितहरुलाई समेत पार्टीले सम्झिनु पर्ने उनको भनाई छ ।

यता, दलित मुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्ष पदम लेकाली भन्छन्, ‘उहाँ अलि अगाडी सम्म माक्र्सवादी र कम्युनिष्ट आन्दोलनका बिरुद्धमा बिषवमन गर्दै आउनु भएको पात्र हुनु हुन्छ । प्राज्ञिक ब्यक्तित्व भएपनि उहाँको सिद्धान्त र ब्यवहार मिलेको थिएन । आम दलित समुदायका पक्षमा उभिएपनि कम्युनिष्ट आन्दोलनका बिरुद्धमा उभिदै आउनु भएका कारण उहाँलाई पार्टीले यो अवसर दिनु हजारौँ क्रान्तिकारीहरु माथिको अन्याय हो । ’

विरोध गर्ने नेताहरूले पार्टी नेतृत्वसँग यस निर्णयबारे पुनर्विचार गर्न माग गर्दै पारदर्शी मापदण्ड, योगदानको मूल्याङ्कन र संगठनात्मक प्रक्रियाको सम्मान गर्न आग्रह गरेका छन्। यद्यपि, यस विषयमा पार्टी नेतृत्वको आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन।

यता नेपाली कम्यूनिष्ट पार्टीले ‘बोल्ड निर्णय’ भन्दै यस अघि सांसद, मन्त्री भएका कसैलाई पनि समानुपातिक सुचीमा नराखी सबै नयाँ अनुहारलाई मात्र स्थान दिएको बताएके छ ।

 

 

सिफारिस