बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

दियोपोस्ट संवाददाता  

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टीकी अध्यक्ष बेगम खालिदा जियाको आज बिहान ८० वर्षको उमेरमा निधन भएको छ । ढाकाको एभरकेयर अस्पतालमा उपचारका क्रममा उनको मंगलवार बिहान करिब ६ बजे निधन भएको थियो ।

खालिदा जिया लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेकी थिइन् । लिभर सिरोसिस, हृदय तथा छातीको संक्रमण सहित अन्य जटिल समस्याका कारण उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

बेगम खालिदा जिया बंगलादेशको पहिलो महिला प्रधानमन्त्री थिइन्। उनले सन् १९९१ मा बंगलादेशको पहिलो महिला प्रधानमन्त्री बन्न सफल भई राजनीतिक इतिहासमा आफ्नो नाम लेखाएकी थिइन्। उनको राजनैतिक करियरमा शेख हसीनासंग लामो प्रतिद्वन्द्विता र राजनीतिक उतारचढावहरू विशेष रूपमा देखा परेका थिए।

राजनीतिमा उनको सक्रिय भूमिका, लोकतन्त्रको पक्षधरता, पार्टी नेतृत्व र महत्वपूर्ण निर्णयहरूका कारण उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चित नेता रहिन्।

खालिदा जियाको निधनमा बिएनपीले सात दिन शोक घोषणा गरेको छ । जसअनुसार पार्टी कार्यालयहरूमा कालो झण्डा राख्ने, नेता तथा कार्यकर्ताले शोक चिन्ह लगाउने कार्यक्रम समावेश गरिएको छ।

बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रो. मुहम्मद युनुसले उनको निधनलाई ठूलो क्षति भनेका छन् र राष्ट्रले एक अनुभवी नेता गुमाएको जनाएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खालिदा जियाको निधनमा गहिरो दुःख व्यक्त गर्दै उनको योगदान र बंगलादेश–भारत सम्बन्धमा खेलेको भूमिकाको प्रशंसा गरेका छन्।

नेपालकी प्रधानमन्त्री सुशिला कार्कीले पनि श्रद्धाञ्जली व्यक्त गर्दै खालिदा जियालाई लोकतान्त्रिक यात्रा र क्षेत्रीय सम्बन्धमा योगदान पुर्‍याएको भन्दै शोक प्रकट गरेकी छन्।

लामो समयसम्म राजनीतिक प्रतिद्वन्द्वी रहेकी पूर्व प्रधानमन्त्री शेख हसीनाले पनि खालिदा जियाको निधनमा गहिरो शोक व्यक्त गर्दै बंगलादेशका लागि उनको योगदानको सम्मान व्यक्त गरेकी छन्।

बेगम खालिदा जिया बंगलादेशको राजनीति र लोकतन्त्रमाथिको अनेकौं उतारचढाव तथा संघर्षको एक प्रमुख पात्र रहिन्। उनको निधनले बंगलादेशको राजनीतिक परिदृश्यमा ठूलो क्षति भएको राष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायले औँल्याएको छ। उनकी प्रतिक्रियाशील राजनीति, नेतृत्व र योगदानलाई आगामी दिनहरूमा व्यापक तरिकाले स्मरण गरिने अपेक्षा गरिएको छ।

सिफारिस