रवि-बालेन एकता ! ए-कता ?

दियोपोस्ट संवाददाता  

काठमाडौँ । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले आइतबार बिहानै फेसबुकमा एउटा फोटो राखे । क्याप्सनमा छोटो वाक्यः ‘शुभप्रभात’ लेखे । साथमा दुईवटा घन्टी।

त्यसको केही बेरमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि उही फोटो सेयर गरे १ क्याप्सनमा उनले लेखेका थिए, ‘सहमति भनेको नेताले खोजेजस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ।’

त्यसपछि रवि-वालेनबीच भएको सात बुँदे सहमति बाहिर आयो। सहमतिका क्रममा उनीहरूका आसेपासेले खिचेका फोटो, भिडियोहरू पनि क्रमश: सार्वजनिक हुँदै गए !

तर यहाँ मूल प्रश्न- घोषणाले के भन्छ भन्ने मात्रै होइन। घोषणाले के नभनेको हो,  त्यो पनि हो।

आइतबार बिहान सार्वजनिक भएको यो ७ बुँदे सम्झौताले दुई फरक पृष्ठभूमिका नेतालाई एउटै मञ्चमा ल्याएको छ, र यससँगै असंख्य प्रश्नहरू पनि उब्जाएको छ ! यो एकता चुनाव जित्नको लागि भएको सम्झौता मात्र त बन्ने होइन?

उनीहरूले यसलाई ‘एकता’ भनेका छन् !
तर यो एकता हो कि, ‘ए-कता ?’ हो !

के यो एकताले,  वैकल्पिक राजनीतिक शक्तिको आधार तय गर्नेछ ?
कि यो एकता पनि, नेपाली राजनीतिका तमाम एकताहरू जस्तै, केवल सत्ता–बार्गेनिङको नयाँ अध्यायमा सिमित हुनेछ?

बालेनको क्रेज र रविको संगठन बीचको ‘पावर डिल’ का रुपमा देखिएको यस एकताले बालेनलाई ‘प्रधानमन्त्रीको अनुहार’ र रविलाई ‘पार्टी संयन्त्र’ सुम्पिएको छ ! यसले अर्को कुराको पनि संकेत गरेको छ, रवि र बालेन; दुवै एक्ला-एक्लै भन्दा मिलेर पुराना दल ढाल्ने दाउमा छन्। ७०/४० को गणितले देखाउँछ कि यहाँ एजेन्डाभन्दा बढी चुनावी नतिजालाई केन्द्रमा राखिएको छ। यो ‘वैकल्पिक राजनीति’ भन्दा पनि ‘परम्परागत शक्ति सन्तुलन’ जस्तै देखिन्छ।

एकताले जेन-जीको सपना पूरा गर्ला? यो एकताको वैचारिक आधार के हो? यसले कसको पक्षमा काम गर्छ ? गरिबको कि धनीको? र यसले जेनजी आन्दोलनले मागेको सुशासन र भ्रष्टाचार अन्त्यलाई कसरी सम्बोधन गर्छ?

हामी रवि बालेनको एकताबारे चर्चा गर्नुपूर्व एकैछिन्, इटाली पुगौं !

सन् २००९ मा इटालीमा जन्मियो—Five Star Movement
यो आन्दोलन सडकमा होइन, स्क्रिनमा हुर्कियो। ब्लग, फोरम र अनलाइन भोटिङ यसको शक्ति थिए। बेप्पे ग्रिल्लो ले आफ्नो ब्लगलाई संसदभन्दा ठूलो मञ्च बनाए।

यो कुनै पेशेवर राजनीतिज्ञको उपज थिएन। यसका जन्मदाता थिए-हास्यकलाकार Grillo।
उनले स्टेजमा उभिएर हँसाए, तर त्यो हाँसो भित्र गहिरो आक्रोश थियो-राज्यप्रति, भ्रष्टाचारप्रति, दलतन्त्र र पुराना राजनीतिज्ञप्रति।

नारा सरल थियो-
पुराना पार्टी होइन, जनता आफैँ।’

आन्दोलन anti-establishment थियो, तर वैचारिक रूपमा पपुलिस्ट।
Anti-corruption, anti-elite, anti-media, anti-EU ! सबै ‘anti’ थिए, तर ‘केका पक्षमा’ भन्ने कुरा अस्पष्ट।

Grillo को उदयले एउटा नयाँ युग देखायो-
राजनीतिक पृष्ठभूमिबाहिरबाट आएका करिश्म्याटिक पात्रहरू पनि सत्ता नजिक पुग्न सक्छन्।

Five Star Movement ले चुनाव जित्यो।
तर सत्ता सम्हाल्न जाँदा, उसै पुराना दलसँग सम्झौता गर्नुपर्‍यो-पहिले Lega सँग, पछि Democratic Party सँग।

यसले सिकाउँछ कि पपुलिज्म मात्र पर्याप्त हुँदैन, स्पष्ट वैचारिक आधार, संस्थागत संरचना र दीर्घकालीन रणनीति चाहिन्छ।

Grillo ले सिस्टम हल्लाए,
तर नयाँ सिस्टम बनाउने नक्सा दिएनन्।

त्यसैले उनको कथा
उदयको मात्र होइन, सीमाको पनि कथा हो।

अब फेरी काठमाडौं फर्काै ।

बालेन शाह-
राजनीतिक परिवारबाट होइन,
पार्टी क्याडर होइन।

उनी र्यापर हुन्,
इन्जिनियर हुन्,
कवि हुन्।

चुनावताका उनले भने,
‘म राजनीतिज्ञ होइन, म व्यवस्थापन गर्न आएको हुँ।’

उनको जित कुनै वैचारिक आन्दोलनको जित थिएन।
त्यो पुराना पार्टीविरुद्धको मत थियो।

मतदाताले परम्परागत दलहरूलाई अस्वीकार गर्दै बालेनलाई चुने, किनकि उनी बाहिरका मान्छे थिए। आफ्नो बोल्ने शैलीका कारण  पपुलर पनि थिए ! पोड़कास्ट देखि लोकप्रिय सामाजिक सञ्जालमा उनको बलियो पकड थियो !

उनले ऐतिहासिक रुपमा चुनाव जिते !

काठमाडौंको मेयरको रुपमा बालेन शक्ति उनको इमान्दार छवि हो ! स्पष्ट भाषा, कहिलेकाहीँ कठोर शैली, स्वार्थी समूहसँग ठोक्किने साहस, र काम गरेर देखाउने आत्मविश्वास। यसले उनलाई लोकप्रिय बनाइरह्यो !  यस्ता विषयले उनलाई आशाको प्रतीक बनायो, र सँगै विवादको केन्द्र पनि। जेनजी आन्दोलनपछि उनी विवादमा पनि आए ! जेनजी आन्दोलनमा देखाएको नैतिक समर्थन,र आन्दोलनका क्रममा उनले सेना, संसद विघटन र सुशिला कार्कीसँग जोडिएर दिएका अभिव्यक्तिहरू लाई लिएर उनी विवादमा मुछिए ! सिंहदरबारको आगो ननिभाएको प्रकरणमा उनी थप विवादित नै बने !

यद्यपि उनको लोकप्रियता घटिसकेको भने छैन।

बालेनको राजनीति मूलतः ‘काम गर’ भन्ने नारामा केन्द्रित देखिन्छ ! काम कसको लागि, कुन दर्शनका आधारमा? त्यो बारे उनले अहिलेसम्म बताएका छैनन्। उनका कामबाट पनि त्यो प्रष्ट हुन् सक्दैन !

उनी फुटपाथका व्यापारीलाई लखेट्छन र ठुला महलहरूको पक्षमा उभिन पुग्छन् !

सुकुम्बासी प्रकरणमा देखिएको उनको दृष्टिकोण, अदालतप्रतिको आक्रामक अभिव्यक्ति, र मेयर भइसकेपछि पनि जनतासँग प्रत्यक्ष तथा नियमित संवादको अभावले  उनीमाथि केहि गम्भीर प्रश्नहरू छन्।

यसैले यतिबेला सहमतिअनुसार ‘प्रधानमन्त्री’ बनेर उदाउन खोजेका बालेन,  वैकल्पिक राजनीतिको स्पष्ट दिशा दिन सक्ने नेता हुन् त् ?

बालेन पछि, अब हामी रवि लामिछानेको कुरा गरौं।

उनी पत्रकार थिए।
टिभी स्टुडियोबाट ‘न्याय’ खोज्थे।
पीडितको आवाज बन्ने गर्थे, पपुलर कार्यक्रम चलाउथे।

तर २०७९ को स्थानीय तहको निर्वाचनमा बालेनको जित र काठमाडौं महानगरपालिकामा उनको उदयसँगै,
पपुलर पत्रकार रवि पनि राजनीतिमा होमिए।
उनले स्वतन्त्र उम्मेदवार बालेनको सिको गर्दै, ‘राष्ट्रिय स्वतन्त्र पार्टी नै गठन गरे !

तर उनको दृष्टिकोण बालेनभन्दा फरक थियो, रवि व्यवस्था भित्रै परिवर्तन खोज्न चाहन्थे।
यसै कारण उनी पुराना दलसँग निकट भए, गठबन्धन सरकारमा सामेल भए, र गृहमन्त्री पनि बने।

पुराना पार्टीहरूका विरूद्द खरा टिप्पणी गरेर भाइरल बनेका रवीले पनि इटलीका ग्रील्लाेले जस्तै सबै पुरातनवादी शक्तिसँग सत्ता सहकार्य गरे । दुइ पटक गृहमन्त्री बने । तर, कुनै एतिहासिक काम गर्न सकेनन् । उनी स्वयं सहकारी ठगीमा मुछिए। सर्वेच्च अदालत समेतकै अदेशका अधारमा उनी जेल चलान भए ।

जेनजी आन्दोलनको बेला भिड जम्मा गरेर, उनी नख्खु कारागारबाट निस्किए, तर जेनजीहरूले नै प्रश्न उठाएपछि उनी फेरि नख्खु फर्किए।

यसले उनको राजनीतिक छविमा प्रश्नचिह्न खडा गर्‍यो, के उनी साँच्चै सुशासन र भ्रष्टाचार अन्त्यको पक्षधर हुन्, कि परम्परागत राजनीतिको नयाँ संस्करण मात्र?

यी सबै घटनाक्रमबीच, जेनजी आन्दोलन भयो। यो आन्दोलनमा न पार्टी थियो, न नेतृत्व। तर आन्दोलनमा युवाहरूको इमानदार प्रतिबद्धता देखीयो ! युवाहरू ठूलो समूहले ‘सुशासन र भ्रष्टाचारको अन्त्यको माग’ राख्दै सडकमा निस्किए। तर, दुर्भाग्य- एमाले-कांग्रेस सरकारले युवामाथि गोली दाग्यो, नरसंहार गर्‍यो।

जेनजी आन्दोलनले नेपाली राजनीतिमा वैकल्पिक शक्तिको खाँचो देखायो। तर यो आन्दोलन संगठनविहीन र वैचारिक रूपमा अस्पष्ट थियो। यसले पुराना दलहरूलाई अस्वीकार त गर्‍यो, तर नयाँ विकल्पको स्पष्ट रूपरेखा प्रस्तुत गर्न सकेन।

अहिले,
देश विस्तारै चुनावमय बन्दैछ।
फागुनमा निर्वाचनको तयारी छ।

परम्परागत दलहरू  नेतृत्वको अन्योलमा छन्। नयाँ दलहरूको बाढी लागेको छ।

यही अन्योल, निराशा र रिक्तता बीच  बालेन  र रविको एकता एक राजनीतिक परिघटनाको रुपमा देखिएको छ !

राजनीति विज्ञानले सिकाउँछ कि समाजमा विभिन्न समूहहरू हुन्छन्, र यी समूहहरूको हित फरक हुन्छन्। कसैको हातमा सम्पत्ति छ, कसैसँग केवल आफ्नो श्रम छ। राजनीतिक दलहरू यी समूहको हितको प्रतिनिधित्व गर्छन्।  कम्युनिस्ट पार्टीहरू गरिबको प्रतिनिधित्व गर्छन्, दक्षिणपन्थी पार्टीहरू धनीको। तर रवि-बालेन एकता कसको पक्षमा छ? यो भने अहिलेसम्म खुल्न सकेको छैन !

बालेन शाह स्वयं, मध्यम वर्गको सोचको प्रतिनिधि हुन्। उनको राजनीति “काम गर,” र “व्यवस्थापन सुधार गर,” जस्ता नाराहरूमा केन्द्रित छ। यो प्रविधिमा आधारित दृष्टिकोण हो, जुन धनी-गरिबको प्रश्नलाई बेवास्ता गर्छ।

उदाहरणका लागि, सुकुम्बासी प्रकरणमा बालेनको दृष्टिकोणले देखाउँछ कि उनी सम्पत्तिको अधिकारलाई प्राथमिकता दिन्छन्, बस्न पाउने अधिकारलाई होइन। यसले गरिब वर्गको हितलाई बेवास्ता गर्छ।

बालेन आर्थिक रूपमा
अहिलेसम्म स्वच्छ देखिन्छन्।

तर,
संवादबाट टाढा रहने
कठोर शैली
सुकुमबासी प्रकरण
अदालतविरुद्धको अभिव्यक्ति !

बालेन माथि यी विषयलाई लिएर उठिरहेका प्रश्नहरू अब राष्ट्रिय राजनीतिमा  झन् ठूलो हुनेछन्।

रवि सँग मिल्दा  बालेन शक्तिशाली देखिन सक्छन्,तर नैतिक प्रश्न पनि सँगै आउँछ।

किनभने मेयर र राष्ट्रिय नेता एउटै हुँदैन !

रवि लामिछाने जनताको पक्षमा” उभिएको दाबी गर्छन्, तर उनी उभिएको “जनता”को परिभाषा स्पष्ट छैन। त्यो जनता,  मजदुर हो कि ?  किसान हो कि ? दलित हो कि? को हो ?  कि मध्यम वर्गीय सहरिया जनता हो? स्पष्ट छैन !

रवि सहकारी प्रकरणमा फसे (वा उनका अनुसार फसाइयो), जुन मूलतः पैसाको अनैतिक प्रयोगको प्रश्न हो। यसले उनको राजनीतिमा आर्थिक न्यायको अभाव देखाउँछ।

रवीकै हकमा पनि, उनी आफ्नो भागको विगो बुझाएर कारागार मुक्त भएका भएता पनि प्रश्नविहिन छैनन् !

– सहकारी प्रकरण
– अदालतप्रतिको व्यवहार
– गालीप्रधान राजनीति
– पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभाव, जस्ता विषयहरूलाई लिएर रवीप्रति अनेकन् प्रश्नहरू छन् !

नेपालको सन्दर्भमा, कांग्रेस, एमाले, माओवादी परम्परागत दलहरूले दशकौंदेखि राजनीतिक प्रभाव कायम राखेका छन्। तर जेनजी आन्दोलन र बालेनको उदयले यो प्रभावमा संकट ल्याएको छ।

के रवि–बालेन एकताले नयाँ राजनीतिक संस्कृति स्थापित गर्न सक्छ?

सात बुँदे सहमति: के छ र के छैन?

७ बुँदे सहमतिको पहिलो बुँदामा, जेनजीले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व, घाइते र शहिद परिवारको माग सम्बोधन गर्ने भनिएको छ।  तर, कसरी सम्बोधन गर्ने? एमाले–कांग्रेस निवतर्तमान सरकारलाई कसरी कारबाही गर्ने ? नरसंहारका जिम्मेवारलाई कसरी सजाय दिने?

जेनजी आन्दोलन  वर्गीय आन्दोलन होइन, पुस्ता आन्दोलन थियो। यसले युवाहरूको निराशा देखायो, तर वर्गीय हितको स्पष्ट परिभाषा दिएन। रवि-बालेनले यसको “अपनत्व” लिने भन्नु भावनात्मक हो, तर संरचनागत होइन।

यसैगरि दोस्रो बुँदामा, ‘नीतिगत, संस्थागत र संरचनागत सुधार, १० वर्षमा मध्यम आय भएको मुलुक।’ भन्ने वाक्य लेखिएको छ ! तर, कुन आर्थिक मोडेल?  कृषि, उद्योग, सेवा क्षेत्रको विकास कसरी? यो भने खुलाइएको छैन!

“मध्यम आय भएको मुलुक” भन्ने नारा नवउदारवाद विकास मोडेलको भाषा हो, जुन विश्व बैंक र IMF ले प्रयोग गर्छन्। तर यसले असमानता घटाउँछ कि बढाउँछ? यो प्रश्नको जवाफ भने दिइएको छैन।

तेस्रो बुँदामा  ‘रवि पार्टी सभापति, बालेन संसदीय दलको नेता र भावी प्रधानमन्त्री’ भन्ने कुरा लेखिएको छ ! जसलाई लिएर सामाजिक सञ्जालमा चर्चा-परिचर्चा व्यापक रुपमा भइरहेको छ ! तर, यो विभाजन किन? के यो शक्ति बाँडफाँड हो? या प्रधानमन्त्री पदका लागि भइरहेको बार्गेनिङ हो ?

लेनिनले भनेका छन्, पार्टीमा एकता र अनुशासन हुनुपर्छ, तर यहाँ “दुई नेतृत्व” को अवधारणा छ, जुन भविष्यमा आन्तरिक संघर्षको कारण बन्न सक्छ।

चौथो बुँदामा,  ‘अन्य वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिलाई आह्वान’ गरिएको छ !  कुन आधारमा एकता? कुन विचारधारा? कि व्यक्तिगत करिश्मा र चुनावी लाभको लागि?

कुनै पनि एकता वैचारिक आधारमा हुनुपर्छ, अवसरवादी गठबन्धनमा होइन। तर, यहाँ एकताको वैचारिक आधार स्पष्ट छैन, त्यसैले यो “लोकप्रिय मोर्चा” जस्तो देखिन्छ, जसलाई राजनीति शास्त्रीहरूले ‘संशोधनवादी राजनीति’ भन्ने गर्दछन्।

मौखिक समझदारी अनुसार, विभिन्न जेनजी समूहका अगुवा पनि बालेनको सूचीमा पर्नेछन्। यो चालले युवा आन्दोलनलाई संस्थागत राजनीतिमा समावेश गर्ने प्रयास हो, तर प्रश्न यो हो- के जेनजी आन्दोलनको स्वतःस्फूर्त ऊर्जा पार्टीको संरचनाभित्र बाँच्न सक्छ?

अन्त्यमा

अहिले नेपाली राजनीति गठबन्धनको खेल बनेको छ। कांग्रेस–एमाले–माओवादी—सबै एकअर्कासँग मिल्ने र बिग्रने चक्रमा छन्। यस्तो अवस्थामा, रवि–बालेन एकताले चौथो शक्तिको भूमिका खेल्न सक्ने त् होइन ?

देशलाई यतिबेला चाहिएको के हो ?

जनताको पक्षमा काम गर्ने इमान्दार राजनीतिक दल ?
कि सत्ताका लागि हुने  नयाँ गठजोड ?

चुनावमा  एजेण्डा प्रधान हुन्छ ?
कि जीतको दाउपेच ?

रवि-बालेन एकताको
वैचारिक आधार के हो ?
वर्गीय पक्षधरता के हो ?
जेनजीले मागेको  सुशासन र भ्रष्टाचार अन्त्यलाई  कुन दर्शनबाट सम्बोधन गर्छ ?

कि उनीहरू पुराना दललाई गाली गर्न मात्रै आएका हुन् ?

नेपालमा नयाँ पार्टी बनाउन सजिलो, टिकाउन कठिन छ। यस्तोमा, रवी र  बालेनको यात्रा, यो एकता
उनीहरूको  व्यक्तिगत भविष्यसँग मात्र होइन, नेपालको भविष्यसँग जोडिएको छ।

र,सबैभन्दा महत्त्वपूर्ण,
उनीहरूको व्यक्तिव्त पनि हो ! उनीहरू दुवैमाथि आत्मकेन्द्रित भएको आरोप पनि छ !
यस्तोमा,  उनीहरू राजनीतिलाई आफूभन्दा ठूलो बनाउँछन् ?
कि राजनीतिभन्दा आफूलाई ठूलो मानिरहनेछन ?

नेपाललाई
नयाँ चुनाव जित्ने लोकप्रिय नेता होइन,
राजनीति र नेतृत्वको अर्थ पुनर्परिभाषित गर्ने नेता चाहिएको छ।

के त्याे उनीहरू बन्न सक्छन् त ?

सिफारिस