‘फेक रेस्क्यु’ र ठगीधन्दामा ह्याम्स अस्पताल, रेस्क्यु कम्पनीसँग साँठगाँठमा ५८ लाख असुली

दियोपोस्ट संवाददाता  

काठमाडौँ । पदयात्री पर्यटकमाथि फर्जी बिमा भुक्तानी र संगठित ठगीधन्दाबारे दियोपोस्टले लामो समयदेखि श्रङ्खलाबद्ध समाचार प्रकाशन गर्दै आएको छ । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यो ठगी धन्दामा संलग्न ६ जनालाई पक्राउ समेत गरेको छ । यो धन्दामा संलग्न अन्य व्यक्तिको र गिरोहबारे समेत दियोपोस्टले केही तथ्यहरु फेला पारेको छ ।

काठमाडौँको चाबहिलमा रहेको हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी लिमिटेड र अल्पाइन रेस्क्युको मिलेमतोमा विदेशी विमा भुक्तानीमा ठगी हुने गरेको भेटिएको छ । दियोपोस्टलाई प्राप्त तथ्य र प्रमाण अनुसार ५७ वर्षिय एक विदेशी नागरिकलाई अल्पाइन रेस्क्युले उद्दार गरेर ह्याम्स अस्पताल पुर्याएको थियो । अर्थोपेडिक डाक्टरलाई सामान्य उपचार गराएको मात्रै ह्याम्स अस्पतालले ५८ लाख ३४ हजार ३ सय १५ रुपैयाँ बिमा दाबी गरेको भेटिएको छ ।

वि.सं. २०८१ असोज २२ गते प्रिन्ट भएको यो बिलमा अस्पतालले अस्वभाविक शुल्क उठाएको छ । विदेशी विरामीलाई बेड चार्ज मात्रै १२ लाख ६४ हजार रुपैयाँ बिमा दाबी गरिएको छ । डाक्टर कन्सल्टेसन शुल्क २ लाख ८ हजार रुपैयाँ दाबी गरिएको छ । त्यस्तै डाक्टर राउन्ड भिजिटको नाममा २ लाख ७३ हजार बिमा दाबी गरिएको छ । त्यस्तै अपरेशन शुल्क २५ लाख २० हजार रुपैयाँ दाबी गरिएको छ । अपरेशन थिएटरमा राखेको शिर्षकमा पुन २ लाख ५२ हजार शुल्क लिइएको छ । नर्सिङ चार्ज ४ लाख ६५ हजार रुपैयाँ भुक्तानी लिइएको छ ।

सिन्धुपाल्चोकका कांग्रेस नेता आरएस भण्डारीद्वारा संचालित यो अस्पताल पनि पदयात्री पर्यटकलाई विमा ठगी र अपराधमा मुछिएको छ । त्यस्तै प्रकाशचन्द्र लोहोनीद्वारा संचालित अल्पाइन रेस्क्यु पनि यो धन्दामा मुछिएका छन् । यद्धपी लोहोनीले आफूले वास्तविक रेस्क्यु गरेको र कुनैपनि नक्कली काम नगरेको दाबी गरेका छन् । यता फेक रेस्क्यु र ठगीमा संलग्न रहेको यो अस्पतालका मालिक आरएस भण्डारी अहिले विदेश भागेको स्रोतले बताएको छ । उनलाई पटक पटक सम्पर्क गर्दा उनको फोन उठेन ।

आइतबार सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीले साढे दुई महिनाको लामो अनुसन्धानपछि तीनवटा कम्पनीसँग सम्बन्धित ६ जनालाई पक्राउ गरिएको जानकारी दिएका थिए । पक्राउ पर्नेहरूमा नेपाल चार्टर सर्भिस प्रालिका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, माउन्टेन रेस्क्यू सर्भिस प्रालिका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, एभरेस्ट एक्स्पेरेन्स एन्ड एसिस्टेन्स प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे तथा सञ्चालक एवं प्रबन्धक सुभाष केसी रहेका छन् ।

 

पक्राउ परेकाहरुले उच्च हिमाली क्षेत्रमा सामान्य स्वास्थ्य समस्या जस्तै टाउको दुखाइ वा थकानलाई ‘एक्युट माउन्टेन सिकनेस’ भनेर झूटो प्रचार गरी हेलिकप्टरमार्फत फर्जी उद्धार गराउने, नक्कली उपचार बिल तथा कागजात तयार पार्ने र अन्तर्राष्ट्रिय बिमा कम्पनीबाट करोडौं रुपैयाँ ठगी गर्ने धन्दा गरिरहेको पुष्टि भइसकेको छ ।

‘फेक रेस्क्यु’ र विदेशी विमा ठगी धन्दामा नर्भिक अस्पताल, सीआइबीले नदेखेको प्रमाण

 

सिफारिस