‘फेक रेस्क्यु’ र विदेशी विमा ठगी धन्दामा नर्भिक अस्पताल, सीआइबीले नदेखेको प्रमाण

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पर्वतारोहण तथा ट्रेकिङका लागि नेपाल आएका विदेशी पर्यटकहरूलाई नक्कली उद्धार (फेक रेस्क्यु) मार्फत ठगी गर्ने गिरोहका ६ जना सदस्यलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

आइतबार सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीले साढे दुई महिनाको लामो अनुसन्धानपछि तीनवटा कम्पनीसँग सम्बन्धित ६ जनालाई पक्राउ गरिएको जानकारी दिएका थिए । पक्राउ पर्नेहरूमा नेपाल चार्टर सर्भिस प्रालिका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, माउन्टेन रेस्क्यू सर्भिस प्रालिका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, एभरेस्ट एक्स्पेरेन्स एन्ड एसिस्टेन्स प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे तथा सञ्चालक एवं प्रबन्धक सुभाष केसी रहेका छन् ।

पक्राउ परेकाहरुले उच्च हिमाली क्षेत्रमा सामान्य स्वास्थ्य समस्या जस्तै टाउको दुखाइ वा थकानलाई ‘एक्युट माउन्टेन सिकनेस’ भनेर झूटो प्रचार गरी हेलिकप्टरमार्फत फर्जी उद्धार गराउने, नक्कली उपचार बिल तथा कागजात तयार पार्ने र अन्तर्राष्ट्रिय बिमा कम्पनीबाट करोडौं रुपैयाँ ठगी गर्ने धन्दा गरिरहेको पुष्टि भइसकेको छ ।

बिमा कम्पनिबाट पक्राउ परेका व्यक्तिहरु संलग्न कम्पनिले मात्रै २ अर्ब ९६ करोड रुपैयाँ ठगी भएको सीआइबीको निष्कर्श छ । यद्धपी सीआइबीले यस विषयमा अनुसन्धान निरन्तर अघि बढाउने जनाएको छ । यो सँगै जोडिएको अस्पतालहरुको लुटधन्दामा भने सीआइबी प्रवेश गरेको छैन । थापाथलीको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको धन्दा नै फर्जी उद्दारबाट काठमाडौं आइपुगेका विरामीका नाममा अश्वभाविक र महँगो शुल्क असुली गर्नु हो ।

दियोपोस्टलाई प्राप्त पछिल्लो ईन्भोइसमा नर्भिक अस्पतालले एक पदयात्री पर्यटकमाथि ८२ लाख २७ हजार ७ सय ७३ रुपैयाँ बिल उठाएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ सय रुपैयाँ पर्ने एलएफटि गरेबापत नर्भिक अस्पतालले भने १२ हजार रुपैयाँ अशुली गरेको बिलबाट देखिन्छ । त्यस्तै सरकारी अस्पतालहरुमा एक सय २० रुपैयाँमा हुने एनेस्थेसिया शुल्क नर्भिक अस्पतालले भने विदेशी पदयात्री विरामीबाट १ लाख रुपैयाँ असुल गर्दै आएको छ । सामान्यतया सरकारी अस्पतालहरुमा ५ लाख रुपैयाँमा हुने ईम्प्लान्ट चार्जेज न्युरोका लागि नर्भिक अस्पतालले २५ लाख असुली गर्दै आएको छ ।

यसअघि जापानी आरोहीमाथि नर्भिक अस्पतालले चार दिन सामान्य उपचार गराउँदा ३४ लाख रुपैयाँ अशुली गरेको थियो । दियोपोस्टले खुलाशा गरेपछि तत्कालिन सीआइबी प्रमुखले अनुसन्धान गर्ने तयारी गरेका थिए । तर, सीआइबीका उच्च अधिकारीहरुकै मिलेमतोमा छुट दिएको थियो ।
बसन्त चौधरीको स्वामित्वमा रहेको नर्भिकले लामो समयदेखि पदयात्री पर्यटकमाथि चर्को ठगी गर्दै आएको छ ।