एपस्टिन विवादपछि बेलायती प्रधानमन्त्रीका प्रमुख सहयोगी म्याकस्वीनीद्वारा राजीनामा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । अमेरिकी अर्बपति तथा यौन अपराधी जेफ्री एपस्टिनसँगको सम्बन्ध र आर्थिक लेनदेनका नयाँ तथ्यहरू सार्वजनिक भएपछि बेलायती लेबर पार्टीका प्रभावशाली नेता तथा पूर्वमन्त्री पिटर म्यान्डेलसनले सरकार तथा पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन्।

डाउनिङ स्ट्रिटका ‘चिफ अफ स्टाफ’ म्याकस्वीनीले आइतबार जारी गरेको विज्ञप्तिमार्फत सरकारबाट अलग हुने निर्णय गरेको बताएका छन्। उनले पिटर म्यान्डेलसनको राजदूत नियुक्ति गलत निर्णय भएको स्वीकार गर्दै त्यसका लागि आफू नै जिम्मेवार रहेको जनाएका छन्।

“मैले प्रधानमन्त्रीलाई उक्त नियुक्तिका लागि सल्लाह दिएको थिएँ र त्यस सल्लाहको पूर्ण जिम्मेवारी म लिन्छु,” विज्ञप्तिमा उल्लेख गरिएको छ। उनका अनुसार उक्त निर्णयले लेबर पार्टी, देश र समग्र राजनीतिप्रतिको जनविश्वासमा क्षति पुगेको छ।

पिटर म्यान्डेलसनमाथि अमेरिकी वित्तीय अपराधी जेफ्री एपस्टिनसँग विगतमा सम्पर्क तथा सम्बन्ध रहेको सार्वजनिक भएपछि उनको नियुक्ति विवादमा परेको हो। यद्यपि म्यान्डेलसनमाथि कुनै यौन अपराधको आरोप लगाइएको छैन, तर एपस्टिनसँगको सम्बन्धका कारण उनको सार्वजनिक पदमाथि प्रश्न उठाइएको छ।

आयरल्यान्ड मूलका म्याकस्वीनीले सन् २०२४ को आमनिर्वाचनमा केइर स्टार्मर नेतृत्वको लेबर पार्टीको निर्णायक विजयमा महत्वपूर्ण भूमिका खेलेका थिए। सोही कारण पछिल्लो समय उनलाई बेलायती राजनीतिक वृत्तमा ‘सबैभन्दा शक्तिशाली व्यक्ति’का रूपमा समेत चित्रण गरिँदै आएको थियो।

पूर्व नेता जेरेमी कोर्बिनको कार्यकालपछि लेबर पार्टीलाई मध्यमार्गी राजनीतिक धारमा ल्याउन म्याकस्वीनीको योगदान महत्वपूर्ण मानिन्छ। उनको राजीनामालाई स्टार्मर सरकारका लागि ठूलो राजनीतिक झड्काका रूपमा हेरिएको छ।

यस घटनापछि विपक्षी दलहरूले नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै प्रधानमन्त्री स्टार्मरबाट स्पष्ट जवाफको माग गरेका छन् भने सरकारभित्र आन्तरिक समीक्षा प्रक्रिया अघि बढाइएको जनाइएको छ।