काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयअन्तर्गत वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपानेसहित ३ जना कर्मचारीलाई घुस तथा स्रोत नखुलेको रकम र मोबाइल सेटसहित नियन्त्रणमा लिएको छ।
कुरियर कम्पनीमार्फत विदेशमा विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना तथा उजुरीको आधारमा आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारबाट सोमबार नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा पर्नेमा अर्थ मन्त्रालय, भन्सार विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र हुलाक सेवा विभागको गोश्वारा हुलाक कार्यालय पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाल रहेका छन्।
अख्तियारका अनुसार कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीको कार्यकक्षमा रहेको टेबल दराजबाट घुस बापत लिइएको १० हजार रुपैयाँ, स्रोत नखुलेको ४० हजार ३५० रुपैयाँ र निजको साथबाट फेला परेको ९६ हजार ७० रुपैयाँ गरी जम्मा १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरिएको छ।
त्यसैगरी नायब सुब्बा छवि प्रसाद रिजालको साथबाट घुस बापत लिइएको २० हजार रुपैयाँ र स्रोत नखुलेको १८ हजार ८४८ रुपैयाँ गरी जम्मा ३८ हजार ८४८ रुपैयाँ फेला परेको छ।
अन्य स्रोत नखुलेको रकमसमेत गरी कुल २ लाख ६८ हजार २८८ रुपैयाँ तथा विभिन्न व्यक्तिहरूबाट संकलन गरिएको २३ थान मोबाइल सेट पनि नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।