काठमाडौं । दलित अधिकारको ‘संरक्षण’ र ‘प्रवर्द्धन’का लागि स्थापना भएको ‘राष्ट्रिय दलित आयोग’का सदस्य टुञ्ज बराइलीमाथि पदीय दुरुपयोग र अनियमितता जस्ता गतिविधिमा संलग्न रहेको आरोप लागेको छ। सदस्य बराइलीका कारण दलित आयोगको छविमाथि नै प्रश्न उठेको छ ।
बराइलीले आयोगको सदस्यको हैसियतमा पाउने सरकारी सेवा-सुविधाको दुरुपयोग गर्दै आएको बताइएको छ । सरकारले उपलब्ध गराएको सवारी साधनका पार्टपुर्जा र पेट्रोल बेचेर निजी फाइदा लिने गरेको, कार्यालयमा हाजिर गरेर बाहिरिने र दिनभर जग्गा दलालीमा संलग्न हुने गरेको उनीमाथि आरोप छ।
आयोग स्रोतका अनुसार बराइली आफ्ना भान्जा नाता पर्ने सन्तोष केसीसँग मिलेर जग्गा किनबेचको कारोबारमा संलग्न रहेको पाइएको हो । केसी ‘कोरियन थेरापी केन्द्र’का सञ्चालक समेत हुन्। सदस्य बराइलीले उनै भान्जा भनिने केसीलाई प्रयोग गरेर पूर्व स्वकीय सचिव समेत रहेकी एक महिलाको चरित्र हत्या गरेको गंभिर आरोप छ ।
ति महिलाले आफ्नो चरित्र हत्या गरिएको भन्दै कानुनी लडाइँ लड्ने समेत बताएकी छन् । त्यति मात्र होइन, सरकारी तलब खाने उनै स्वकीय सचिवलाई समेत जग्गा कारोबारमा प्रयोग गर्दै आएको बताइएको छ ।
पूर्व स्वकीय ती महिलाले दियोपोष्टसँग कुरा गर्दै भनिन्, ‘मलाई कार्यालयको कामभन्दा बढी निजी काममा खटाइन्थ्यो। कहिले घरमा भाँडा माझ्न, कहिले कपडा सुकाउन लगाइन्थ्यो। धेरैजसो ‘जग्गा हेर्न जाऊ’ भनेर बाहिर पठाइन्थ्यो। कार्यालय त हाजिर गर्न मात्रै जाने हो।’
स्वकीय सचिवले पाउने पारिश्रमिकमा समेत सदस्य बराइलीले हस्तक्षेप गर्ने गरेको आरोप छ। विभिन्न बहाना बनाएर आफुले पाउँदै आएको पारिश्रमिकको आधा रकम बराइलीले लिने गरेको उनले बताइन् । बराइलीले ‘श्रम’ र ‘आर्थिक’ शोषण गरेको पीडित महिलाको आरोप छ ।
बराइली आयोगको सदस्य पदमा नियुक्त भएयता दर्जनौँ स्वकीय सचिव परिवर्तन भइसकेको आयोग स्रोतले जनाएको छ। उनको कार्यशैली र ब्यवहारका कारण स्वकीय सचिवले कार्यालय छाड्ने गरेको बताइएको छ ।
त्यसैगरी, बराइलीले सरकारले उपलब्ध गराएको गाडी फिर्ता गरी चालकले पाउने पारिश्रमिक आफैले हत्याउने गरेको बताइएको छ।
साथै, उनको कार्यशैलीबारे प्रश्न उठाउने कर्मचारीमाथि अपशब्द प्रयोग गर्ने, तल्लोस्तरको गालीगलौज गर्ने र मानसिक दबाब दिने गरेको आरोप समेत लागेको छ।
आयोगका कार्यक्रम, बैठक र कुनै पनि निर्णय प्रक्रियामा सहभागी नहुने तर आयोगबाट नियमित तलब सुविधा भने लिँदै आएको आरोपसमेत उनीमाथि छ। आयोगका अन्य सदस्यहरुका अनुसार, उनको प्रबृत्तिका कारण राष्ट्रिय दलित आयोगको अस्तित्वमाथि नै संकट पैदा भएको छ ।
यस विषयमा प्रतिक्रिया लिन टुञ्ज बराइलीसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् । आयोगका अन्य पदाधिकारीहरू भने यस विषयमा औपचारिक छलफलमा रहेको बताउँदै आएका छन् ।