किर्तिपुरमा डेरामा बस्दै आएका दलित विद्यार्थीमाथि जातीय गाली गलौजसहित कुटपिट

दियोपोस्ट संवाददाता  

काठमाडौं । राजधानीस्थित शंकरदेव क्याम्पसमा बि.बि.एस. चौथो वर्षमा अध्ययनरत एक दलित विद्यार्थीमाथि जातीय गाली गलौजसहित कुटपीट भएको छ । कैलाली घोडाघोडी नगरपालिका वडा नं.४ स्थायी घर भई हाल किर्तिपुर नगाउँमा डेरागरि बस्ने स्वरुप नेपालीमाथि कुटपिट भएको हो ।

पीडित नेपालीका अनुसार माघ १७ गते राति उनी आफ्नो कोठामा पढिरहेको थिए । सोही घरको अर्को कोठामा बस्ने तेजेन्द्र संग्राम जबर्जस्ती कोठाभित्र प्रवेश गरी गालीगलौज गर्दै आक्रमणमा उत्रिएका थिए। ‘उ मेरो रुममा आएर एक्कासी ‘बाहिर निस्की’ भन्दै लछारपछार गर्न थाल्यो । अरु दुई जना अपरिचत ब्यक्तिहरु पनि थिए । उनीहरुले पनि मामाथि आक्रमण गर्दै जातीय अपमानजनक शब्द प्रयोग गरे,’ पीडितले बताए।

त्यसपछि तेजेन्द्रका दाई हुनर साम्यवादी भनिने हरिसचन्द्र संग्राम समेत कोठामा छिरेर अपशब्द प्रयोग गर्दै गाली गलौजमा उत्रिएको पीडितको आरोप छ । हरिसचन्द्र तत्कालिन नेकपा माओवादी र हाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा समेत आवद्ध भएका ब्यक्ति हुन् ।

उनका अनुसार आक्रमणकारीहरूले उनलाई कोठाबाट घिसार्दै ढोकासम्म ल्याएर कुटपिट गरेका थिए। कुटपीटमा छिमेकीको समेत संलग्नता रहेको उनले बताए । घटनापछि रातभर डर र त्रासमा बस्न बाध्य भएको र अहिले पनि असुरक्षित महसुस गरिरहेको पीडित नेपाली बताउँछन्।

पीडित विद्यार्थीले आफूलाई पछिल्ला तीन वर्षदेखि निरन्तर मानसिक तनाव दिइँदै आएको आरोप लगाएका छन्। ‘म माथि जातीय गालीगलौज, अपमान र खिसीट्युरी भइरहन्थ्यो। पानी भर्दा पनि सबैले भरेपछि मात्र भर्न दिइन्थ्यो ,’ उनले भने, ‘मैले पढाइ बिग्रन्छ भनेर सबै सहेर बसेको थिएँ।’

घटनापछि घरबेटी प्रविण महर्जनलाई जानकारी गराउँदा कुनै चासो नदेखाएको पीडितको भनाइ छ। भोलिपल्ट घरबेटी आएर उल्टै घर छोडेर जान भनेको उनले बताए। ‘मेरो गल्ती केही छैन, ममाथि आक्रमण भएको छ। तर न्याय दिलाउनुको साटो उल्टै घरबाट निकाल्न खोजियो,’ उनले दुखेसो पोखे।

आक्रमणकारीहरूबाट बारम्बार ज्यान मार्ने धम्की आएको र आफू असुरक्षित अवस्थामा रहेको उनको भनाइ छ। ‘मलाई मारिदिन्छु, फालिदिन्छु भनेर धम्की दिएका छन्। सिँढीबाट तल लैजाँदै कुटपिट गरिएको छ,” उनले भने, “म सानो जातको भएकै कारण यस्तो व्यवहार गरिएको हो। यो स्पष्ट जातीय विभेद हो।’

घटनाबारे प्रहरीलाई जानकारी गराइसकेको भए पनि आरोपितहरू ढुक्कसँग हिँडिरहेको देख्दा आफू झन् त्रासमा बाँच्नु परेको पीडितले बताए। उनले न्यायका लागि कानुनी लडाइँ लड्ने बताएका छन्।

पीडित नेपालीले आफूले कुनै गल्ती नगरेको, बाहिरबाट साथीहरू नल्याएको र एक्लै शान्तिपूर्वक बस्दै आएको अवस्थामा पनि यस्तो अमानवीय व्यवहार भोग्नुपरेको भन्दै सम्बन्धित निकायसँग निष्पक्ष छानबिन र कडा कारबाहीको माग गरेका छन्।

सामाजिक अभियन्ता दीपा नेपालीले स्वरुप नेपालीमाथि भएको आक्रमण अमानवीय भएको बताइन् । उनले भनिन्, ‘भाडामा राख्दा थर सोधेर कोठा दिने, सानो जातको भन्ने थाहा पाएपछि घरबाटै निस्केर जा भन्ने, घर छोड्न नमानेको खण्डमा भाडामै बस्ने मान्छे प्रयोग गरेर कुटपिट र गाली गलौज गरिएको छ । यो अहिलेको समाजलाई नसुहाउने प्रबृत्ति हो ।’ आक्रमण गर्ने ब्यक्ती र घरबेटीका बिरुद्ध कानुनी लडाई लडिने उनको भनाई छ ।

यस सम्वन्धि बुझ्न खोज्दा घरबेटी प्रबिण महर्जन सम्पर्कमा आएनन् ।

 

भिडियो हेर्नहोस्:

 

सिफारिस