काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइको काम गर्ने एक कर्मचारीलाई डस्टबिनबाट सुन निकाल्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ। सुनगाभा सगरमाथा सर्भिस प्रा.लि. कम्पनीमार्फत विमानस्थलमा सरसफाइ गर्ने ४० वर्षीय डिकबहादुर राउत पक्राउ परेका हुन् ।
सरसफाइका क्रममा फोहोर संकलन गरिरहेको बेला ती कर्मचारीले डस्टबिनभित्र फालिएको सुन लुकाई बाहिर लैजान खोजेको आशंकामा निगरानीका क्रममा नियन्त्रणमा लिइएको विमानस्थल प्रहरीले जनाएको छ ।
फोहरको पोकोलाई स्क्रिनिङ गर्दा ४.४ ग्रामको सुन फेला परेको प्रहरीले जनाएको छ। घटनापछि उनलाई आवश्यक अनुसन्धानका लागि विमानस्थल प्रहरी कार्यालयमा राखिएको छ।
प्रहरीले बरामद गरेको सुन कसको हो, कसरी डस्टबिनसम्म आइपुग्यो तथा यसमा अन्य व्यक्ति वा गिरोहको संलग्नता छ–छैन भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ।
यस घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने विमानस्थल प्रहरीले जानकारी दिएको छ।