‘फेक रेस्क्यु धन्दा’ : कारागार चलान भएका दामोदर ढकाल र सिम्रिक एयरको मिलेमतो देखिने प्रमाण !

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नेपालमा घुम्न आएका पदयात्री पर्यटक उद्दारको नाममा हुने फेक रेस्क्यु धन्दा गर्नेहरु धमाधम पक्राउ गर्न थालेको छ ।

सीआइबीले शनिबार मात्रै काठमाडौंको लाजिम्पाटस्थित श्रीद्धि अन्तर्राष्ट्रिय अस्पतालका मालिक डा. गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको छ । यसअघि सीआइबीले पर्यटन क्षेत्रमा फेक रेस्क्यु धन्दामा संलग्न रहेको आरोपमा जयराम रिमाल, मुक्ती पाण्डे, रविन्द्र अधिकारी, विवेक थपलिया, विवेक पाण्डे र सुभाष केसीलाई पक्राउ गरेको छ । यो धन्दामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । सीआइबी स्रोतका अनुसार यसरी पक्राउ परेकाहरुलाई संगठित अपराध, राष्ट्रहित विरुद्धको कसुरमा म्याद थप भएर अनुसन्धान भइरहेको छ । पक्राउ परेकाहरुसहितलाई आज पुन म्याद थप गरेर अनुसन्धान गरिँदैछ ।

फेक रेस्क्यु धन्दामा संलग्न रहेको आरोप लागेपनि ठूला व्यक्ति र शक्तिशालीहरुमाथि सीआइबीले गरिरहेको अनुसन्धानलाई सहयोग पुग्ने गरि थप नयाँ प्रमाण फेला परेको छ । नेपाली विद्यार्थीलाई युएई लगायत मुलुक मार्फत विभिन्न मुलक पठाइदिने भन्दै हाल सीआइबीकै हिरासतमा बसेर आइतबार मात्रै कारागार चलान भएका कान्तिपुर होलिडेजका मालिक दामोदर ढकाल र सिम्रिक एयरको मिलेमतोमा समेत फेक रेस्क्यु ठगी धन्दा हुने गरेको खुलेको छ । ढकालको स्वामित्व रहेको नेपाल एसिस्टेन्स नामक कम्पनिसँगको मिलेमतोमा नेपाल घुम्न आउने पदयात्री पर्यटकलाई उद्दारको नाममा फर्जी बिमा भुक्तानी गर्ने गरेको खुलेको हो । सन् २०२२ को मे २२ मा ढकालको कम्पनिले युरोप एसिस्टेन्स नामक विदेशी विमा कम्पनिको नाममा जारी गरेको बिलमा १० हजार ९ सय ४ युरो भुक्तानी दाबी गरिएको छ ।

सिम्रिक एयरले मुक्तिनाथ यात्राका क्रममा फर्कदा एक विदेशी नागरिकलाई समेत हेलिकोप्टरमा ल्याएको कर्गो मेनिफेस्टोमा देखिन्छ । उनीसँगै अन्य दुई नेपाली नागरिकलाई पनि हेलिकोप्टरमा ल्याइएको देखिन्छ । स्रोतका अनुसार हेलिकोप्टर मुक्तिनाथ यात्राका लागि गएको र फर्कंदा सोही हेलिकोप्टरलाई पर्यटक रेस्क्युको गरेको भनि झूटो दाबी गरिएको तथ्य भेटिएको हो ।

वर्षअघि अर्थात २२ मे २०२१ मा उद्दार गरिएको भनिएको कर्गो मेटिफेस्टोम विदेशी नागरिकसहित सरला नेपाल र हेमराज भाटको नाम उल्लेख छ । ती विदेशी नागरिकलाई पोखरास्थित स्वाकन अस्पतालमा सामान्य उपचार गरिएको समेत दाबी गरिएको बिल पेश गरिएको छ । तर, ती सबै दाबीहरु फर्जी रहेको उद्दारमै संलग्न स्रोतले बनायो ।


ढकालले नै उपलब्ध गराएको अर्को बिलमा सोही विरामी उद्दार गरेबापत युरोप एसिएस्टेन्सलाई ५ हजार ५ सय युरो भुक्तानी दाबी गरिएको छ । हेलिकोप्टरले लिएको शुल्क भन्दा यो दोब्बर शुल्क हो ।

अन्नपूर्ण मिडिया नेटवर्कका मालिक समेत रहेका रामेश्वर थापाद्वारा संचालित सिम्रिक एयरमाथि कारबाहीका लागि तत्कालिन पर्यटन सचिव घनश्याम उपाध्यायको नेतृत्वको समितिले समेत सिफारिस गरेको थियो । तर, शक्तिको आडमा उनीमाथि कारबाही हुन सकेको छैन । ‘मुक्तिनाथ ट्रिप लिएर गएपछि फर्कने क्रममा विदेशी नागरिकलाई लिफ्ट दिइएको हो । तर, यसरी लिफ्ट दिइएको घटनालाई रेस्क्यु भन्न मिल्दैन । रेस्क्युका लागि गृहमन्त्रालय र नागरिक उडयन मन्त्रालयसँग समेत छुट्टै अनुमति लिनुपर्ने हुन्छ,’ रेस्क्यु क्षेत्रका एक विज्ञले भने,‘यहाँ बिलमा उल्लेख भएको कर्गो मेनिफेस्टोमा रिर्टन भनेर लेखिएको छ । फर्कंदा प्रयोग भएको बिललाई रेस्क्यु गरिएको भनि विदेशी विमा कम्पनिबाट भुक्तानी दाबी गर्नु आफैमा ठगीधन्दा हो ।’
पक्राउ परेका अभियुक्त मुक्ती पाण्डे मनाङ एयरका समेत मालिक हुन् । उनले सिम्रिक एयरले जस्तै नियमित उडानका हेलिकोप्टरलाई समेत रेस्क्यु गरेको भनि ठगी गर्र्दै आएका थिए ।

सिम्रिक एयरको टेलिफोनमा यो प्रकरणका विषयमा प्रतिक्रियाका लागि सम्पर्क गर्दा फोन उठाउने व्यक्तिले आफूलाई यो विषयमा जानकारी नभएको बताइन् । सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोसीलाई बिलसहित जानकारी गराउँदा उनले यो विषयमा बुझेर मात्रै भन्न सक्ने बताए ।