काठमाडौं। ह्युन्डाई स्यान्ट्रोले नेपालमा साना गाडीको बजार र उपभोक्ताको सोच नै परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेको छ। सन् १९९९ मा पहिलो पटक नेपाल भित्रिएको स्यान्ट्रो त्यतिबेला जापानी ब्रान्डहरूको वर्चस्व रहेको साना गाडीको बजारमा नयाँ विकल्पका रूपमा प्रस्तुत भएको थियो।
भारतमा उत्पादन भएका गाडीप्रति उपभोक्ताको विश्वास विस्तारै बढ्दै गएको समयमा सार्वजनिक भएको ह्युन्डाई स्यान्ट्रोले छोटो समयमै फरक पहिचान बनाउन सफल भयो। दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको, आरामदायी र व्यवहारिक स्यान्ट्रो नेपाल ह्युन्डाईका लागि मात्र होइन, ह्युन्डाई इन्डियाका लागि पनि ऐतिहासिक मोडेल बनेको छ । नेपाल ह्युन्डाई स्यान्ट्रोको पहिलो निर्यात बजार बनेको थियो, जसलाई ह्युन्डाईले गर्वको क्षणका रूपमा सम्झेको छ ।
स्यान्ट्रोले नेपाली ग्राहकहरूमा ह्याचब्याक गाडीप्रतिको धारणा नै परिवर्तन गरिदिएको छ । सानो गाडी पनि भरपर्दो, आकर्षक, मर्मतमा सहज र नेपाली सडक तथा पारिवारिक आवश्यकता अनुकूल हुन सक्छ भन्ने सन्देश स्यान्ट्रोले दिएको छ । यही कारण समयसँगै स्यान्ट्रो केवल एक सवारी साधन मात्र नभई धेरै नेपाली परिवारहरूको विश्वासिलो साथीका रूपमा स्थापित भएको बताइएको छ ।
स्यान्ट्रोबाट सुरु भएको यही भरोसाको आधारमा ह्युन्डाईले नेपालमा आफ्नो यात्रा अघि बढाउँदै आज देशका अग्रणी अटोमोबाइल ब्रान्डमध्ये एकको रूपमा आफ्नो स्थान बनाएको छ।
नेपालमा ह्युन्डाई स्यान्ट्रोको २५ वर्ष पूरा भएको अवसरमा ह्युन्डाईले यो मोडेल मात्र होइन, त्यसले निर्माण गरेको विश्वासको विरासतलाई पनि सम्मान गर्ने घोषणा गरेको छ। यस विशेष अवसरमा ह्युन्डाई इन्डिया र ह्युन्डाई नेपालको सहकार्यमा सन् २००० मोडेल वर्षका ह्युन्डाई स्यान्ट्रो प्रयोगकर्ताहरूलाई ह्युन्डाई नेपालसँग सम्पर्क गर्न आग्रह गरिएको छ।
छनोटमा परेका ग्राहकहरूले ह्युन्डाईद्वारा तयार गरिएको विशेष ‘सरप्राइज’ अनुभव गर्ने अवसर पाउने कम्पनीले जनाएको छ।