‘लैङ्गिक’ पहिचान र ‘सुशासन’का लागि संसदीय यात्रामा नुमा लिम्बु

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नुमा लिम्बु संघर्षले खारिएको नाम हो। उनका जीवनमा खुसीभन्दा पीडाका अध्यायहरू धेरै छन्। सानै उमेरमा आमाबुबा गुमाएकी नुमा फरक लैङ्गिक पहिचान बोकेर समाजसँग निरन्तर लड्दै यहाँसम्म आइपुगेकी छन्। हाल ३९ वर्ष पुगेकी उनी आज सामाजिक न्याय, पारदर्शिता र सुशासनको मुद्दा बोकेर चुनावी राजनीतिमा होमिएकी छन्।

मोरङको बबिया बिर्ता-९ (हाल रङेली नगरपालिका)मा झुपडीमा जन्मिएकी नुमाको बाल्यकाल अभाव र एक्लोपनमै बित्यो। आमाबुबाको असामयिक निधनपछि समाजको हेपाइ र तिरस्कारले उनको जीवन झन् कठिन बन्यो। उनलाई माया दिने सबै गुमे । त्यसबेला उनी आफैँलाई पनि गुमाउँदै थिइन्।

जीवनले नयाँ मोड त्यतिबेला लियो, जब विराटनगरमा आयोजित एक गैरसरकारी संस्थाको कार्यक्रममा उनले आफूजस्तै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मानिसहरू भेटिन्। यही भेटले उनलाई आत्मस्वीकृति, पहिचान र संघर्षको बाटो देखायो। त्यसपछि उनी कोशी प्रदेशका विभिन्न जिल्लामा ‘लिड नेपाल’मार्फत विभेद, घृणा र तिरस्कारविरुद्ध आवाज उठाउन थालिन्।

तर विडम्बना, अधिकारका लागि लड्ने भनिएका आफ्नै समुदायभित्रका संस्थाबाटै उनी उपेक्षित भइन्। नीति निर्माण तहमा पुग्नुपर्ने बेला समुदायमाथि नै भइरहेको शोषणबारे प्रश्न उठाउँदा उनलाई दबाउने प्रयास गरियो। युएसएआईडीको अनुदान बन्द भएपछि त ती समूहहरूले उनलाई पूर्ण रूपमा बाइकट गरे।

त्यसपछि नुमाले युएसएआईडीको करिब ८ करोड रुपैयाँ अनियमित रूपमा हिनामिना गरिएको तथ्य सार्वजनिक गरिन्। उनले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा उजुरी दिइन्। तर लामो समयसम्म कुनै सुनुवाइ भएन। त्यसपछि उनले संस्थागत पारदर्शिता र जबाफदेहिताको माग गर्दै राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरिन्।

आयोगको पटक-पटकको पत्राचार अटेरी भएपछि जिल्ला प्रशासन कार्यालयमार्फत ब्लु डायमन्ड सोसाइटीकी कार्यकारी निर्देशक सुवेन ढकाल (मनिषा) ले पत्र त बुझिन्, तर संस्थाभित्रको अनियमितता छोप्न उल्टै नुमाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिन्। तर उच्च अदालत पाटनले सूचना उपलब्ध गराउने राष्ट्रिय सूचना आयोगको निर्णयलाई सदर गरेको छ।

जेनजी आन्दोलनको मूल मर्म नै भ्रष्टाचारको अन्त्य र सुशासन थियो। तर सो आन्दोलनका मागविपरीत ब्लु डायमन्ड सोसाइटीको भूमिकाप्रति नुमाले निरन्तर प्रश्न उठाउँदै आएकी छन्। यति हुँदाहुँदै पनि उनी जबाफदेहिता र पारदर्शिताको पक्षमा अडिग छिन्।

यसैबीच, नुमाले दक्षिण एसियाली स्तरको लैङ्गिक समानता, दिगो विकास र महिलाको सशक्तीकरणसम्बन्धी दुई साता लामो आवासीय तालिममा सहभागिता जनाइन्। साथै, उनी टीयूआई फ्युचर शेपर्स ग्लोबल यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटन नवप्रवर्तनकर्ता कार्यक्रममा पनि आधिकारिक रूपमा छनोट भएकी छन्।

राजनीतिमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको कमजोर उपस्थितिलाई उनले ठूला कमजोरीका रूपमा लिइन्। यही सन्दर्भमा ब्लु डायमन्डका संस्थापक अध्यक्ष तथा पहिलो संविधानसभा सदस्य सुनिल बाबु पन्तको पहलमा समावेशी समाजवादी पार्टी गठन भयो। निर्वाचन आयोगमा दर्ता भइसकेको उक्त पार्टी फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्षतर्फ ६ र समानुपातिकतर्फ १५ उम्मेदवारसहित चुनावी मैदानमा उत्रिएको छ।

नुमा मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेकी छन्। उनी नेपाली कांग्रेसका गुरु घिमिरे, एमालेका जीवन घिमिरे, नेकपाका हरि बहादुर बस्नेत, रास्वपाका सन्तोष राजवंशीसहित १९ जना उम्मेदवारसँग प्रतिस्पर्धामा छन्।

१ लाख १९ हजार २५५ मतदाता रहेको उक्त क्षेत्रमा नुमा सामाजिक सञ्जालमार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै समर्थन मागिरहेकी छन्। उनले ६ वटा निर्वाचन क्षेत्रमा सर्वसम्मत प्रतिनिधि निर्वाचित गराउन दलहरूलाई सहयोगको अपिल पनि गरेकी छन्।

चुनावी घोषणाभन्दा व्यवहारिक योजनामा जोड दिँदै नुमाले आफ्नो क्षेत्रको विकासका प्राथमिकता तय गरिसकेकी छन्। विगतका जनप्रतिनिधिले चुनावपछि मतदातालाई बिर्सिएको अनुभव सँगालेकी उनी आश्वासन होइन, पूरा गर्न सकिने प्रतिबद्धतामात्र अघि सारिरहेको बताउँछिन्।

समुदायको नाममा समुदायमाथि शोषण गर्नेहरूलाई कानुनी दायरामा ल्याउनु र देशबाट भ्रष्टाचार निर्मूल पार्नु उनको मुख्य एजेन्डा हो। फागुन २१ को नतिजा जे आए पनि संघर्षबाट नथाक्ने नुमाको विश्वास छ, किनकि उनी सधैँ खुसीको आशा बोकेर अघि बढेकी छन्।