काठमाडौं । संघीय सरकारले सामाजिक सञ्जाल (सोसल मिडिया) विधेयक, २०८१ फिर्ता लिने प्रस्तावलाई आज बसेको राष्ट्रिय सभाको बैठकले सर्वसम्मतिपूर्वक पारित गरेको छ । सभाका अध्यक्ष नारायण दाहालको सभापतित्वमा सम्पन्न बैठकले विचाराधीन उक्त विधेयकलाई औपचारिक रूपमा फिर्ता लिने प्रस्ताव पारित गरेको हो ।
यो विधेयकलाई २०८२ भदौ १३ गते दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको थियो । समितिमा ३५ जना सांसदहरूले १५५ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए भने विधेयकलाई लिएर व्यापक छलफल भएको थियो ।
सरकारले माघ २० गते सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमार्फत विधेयक फिर्ता लिने निर्णय गरेको थियो र त्यसको औपचारिक पत्र माघ २१ गते राष्ट्रिय सभामा पठाइएको थियो ।
सामाजिक सञ्जाल विधेयकलाई लिएर गत वर्षदेखि राजनीतिक तथा नागरिक समाजका विभिन्न आलोचना र विवाद उत्पन्न भएको थियो । विधेयकका समर्थकहरूले यसले अनलाइन दुरुपयोग र गलत सूचनाको नियन्त्रणमा मद्दत गर्ने दाबी गरेका थिए भने आलोचकहरुले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता खतरामा पर्न सक्ने बताउँदै विरोध गरेका थिए ।