नवलपरासी प्रशासनद्वारा रवि लामिछानेलाई निर्वाचन आचारसंहिता उल्लंघन नगर्न चेतावनी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (पश्चिम)ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै सचेत गराएको छ। जिल्ला प्रशासन कार्यालयले सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै आचारसंहिता उल्लंघन नगर्न चेतावनी दिएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन-२०८२ को आचारसंहिता कार्यान्वयनको क्रममा लामिछानेले आचारसंहिताविपरीत गतिविधि गरेको पाइएको जनाइएको छ। निर्वाचन आचारसंहिताले निषेध गरेका कार्यक्रम, प्रचार–प्रसार तथा गतिविधिमा संलग्न भएको भन्दै प्रशासनले ध्यानाकर्षण गराएको हो।

विज्ञप्तीमा भनिएको छ, माघ २७ गते यस जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ रहेको सूचना प्राप्त हुन आएकाले सो सम्बन्धमा निर्वाचन आचारसंहिता-२०८२ आकर्षित हुने गरी निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्नु, नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

विज्ञप्तिमा निर्वाचनको स्वच्छता, निष्पक्षता र मर्यादा कायम राख्न सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरिएको छ। साथै, अबका दिनमा यस्ता गतिविधि दोहोरिए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबै पक्षको जिम्मेवार भूमिका आवश्यक रहेको उल्लेख गर्दै आचारसंहिताको कडाइका साथ पालना गर्न अनुरोध गरेको छ।