निर्वाचन आयोगद्वारा नागरिक उन्मुक्ति पार्टीको दर्ता खारेज

दियोपोस्ट संवाददाता  

काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई राजनीतिक दलको सूचीबाट हटाएको छ। नाउपा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच गत पुस १४ गते एकता भएपछि आयोगले नाउपा खारेज गरेको हो ।

निर्वाचन आयोगले नाउपा खारेज गरेको जानकारीसहितको पत्र सुदूरपश्चिम प्रदेश सभा सचिवालयलाई पठाइसकेको जनाएको छ। आयोग स्रोतका अनुसार दुई दलबीच एकता भई नयाँ राजनीतिक संरचनामा प्रवेश गरेपछि राजनीतिक दलसम्बन्धी प्रचलित कानुनअनुसार नाउपाको अलग अस्तित्व कायम रहन नसक्ने भएकाले दल दर्ता खारेज गरिएको हो। यससँगै नाउपा नाममा दर्ता भएका सांसद, पदाधिकारी तथा संगठनात्मक संरचना अब स्वतन्त्र दलका रूपमा नरहने आयोगले जनाएको छ ।

आयोगले प्रदेश सभा सचिवालयलाई पठाएको पत्रमा नाउपा अब आयोगको अभिलेखमा राजनीतिक दलका रूपमा कायम नरहेको र त्यसअनुसार आवश्यक प्रशासनिक तथा संवैधानिक व्यवस्था मिलाउन आग्रह गरिएको बताएको छ।

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश केन्द्रित दलका रूपमा परिचित थियो। पार्टी एकता अघि नाउपाका प्रदेश सभा सदस्यहरूको उपस्थिति सुदूरपश्चिम प्रदेश सभामा रहेको थियो।