काठमाडौं : वैदेशिक अध्ययनका लागि युएई पठाइदिने भन्दै विद्यार्थीसँग लाखौँ रुपैयाँ असुलेर ठगी गरेको आरोपमा पक्राउ परेका पाँच जना शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी सञ्चालक) कारागार चलान भएका छन् । उनीहरुलाई काठमाडौं जिल्ला अदालतले आइतबार पुर्पक्षका लागि कारागार चलान गरेको हो । जिल्ला अदालत काठमाडौंका न्यायधीश नारद प्रसाद भट्टराईको एकल ईजलाशले उनीहरुलाई केन्द्रिय कारागार सुन्धारा चलान गरेको हो ।
बेस्ट पाथ एजुकेसन प्रा.लि.का संचालक कृष्ण थापा, मर्सी एजुकेशन कन्सल्टेन्सीका संचालक रामचन्द्र टण्डन, कान्तिपुर अब्रोड एजुकेशनका मालिक दामोदर ढकाल,सोही कम्पनिका हेमराज भट्ट, सिटीहब एजुकेशनका नेटवर्कका सुवाश सिलवाल क्षेत्री रहेका छन् । कान्तिपुर अब्रोड एजुकेशनका मालिक ठाकुर प्रसाद ढुंगानालाई भने फरार प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिएको छ ।

मर्सि एजुकेशनका अर्का संचालक प्रविना रावल पनि फरार सुचीमा छिन् । उनलाई पनि फरार सुचीमा राखेर अभियोग पत्र दर्ता भएको छ ।
विद्यार्थीलाई युएईका प्रतिष्ठित कलेजमा भर्ना गराउने र त्यहाँबाट फ्रान्स तथा अष्ट्रेलियाका विश्वविद्यालयहरूमा ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने प्रलोभन देखाइ ठगी गरेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको थियो ।
केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसएसपी शिव कुमार श्रेष्ठका अनुसार आइतबार जिल्ला अदालतले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । विद्यार्थीलाई युएईको उच्च शिक्षा मन्त्रालय तथा ‘कमिसन फर एकेडेमिक एक्रिडिटेसन’बाट स्वीकृति नै नलिएका तालिम केन्द्रहरूमा पठाउने गरेको थियो ।
उनीहरूले प्रतिव्यक्ति ८ लाखदेखि २२ लाख रुपैयाँसम्म रकम लिई विद्यार्थीलाई झुक्याएको प्रहरीले जनाएको छ। हालसम्म १३ जना पीडितले दिएको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई उनीहरूलाई पक्राउ गरिएको थियो ।