संयुक्त सामान ढुवानी व्यवसायी संघको आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, धर्मराज पोखरेल अध्यक्षमा निर्वाचित

दियोपोस्ट संवाददाता  

काठमाडौँ । संयुक्त सामान ढुवानी व्यवसायी संघको आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। काठमाडौँको होटल हेभन रिसोर्टमा सम्पन्न अधिवेशनबाट धर्मराज पोखरेल संघको अध्यक्षमा निर्वाचित भएका छन्।

निर्वाचन परिणामअनुसार उपाध्यक्षमा जयप्रसाद भट्टराई, सचिवमा कुमार श्रेष्ठ, सह–सचिवमा नवराज भुजेल र कोषाध्यक्षमा प्रकाशसिंह धामी निर्वाचित भएका छन्। त्यस्तै, कार्यसमिति सदस्यमा सुजन सिलवाल, राजकुमार बी.सी., निरज श्रेष्ठ र कान्तिकुमारी खड्का चयन भएका छन्।

साधारण सभामा बोल्दै ढुवानी व्यवसायी महासंघ–नेपालका अध्यक्ष माधवप्रसाद नेपालले ढुवानी व्यवसायीप्रति राज्यको दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताए। उनले राजस्व अनुसन्धानको नाममा व्यवसायीलाई अनावश्यक दुःख दिने प्रवृत्ति रहेको उल्लेख गर्दै बजेटमा व्यवसायीमैत्री कर प्रणाली लागू गर्नुपर्नेमा जोड दिए।

उनले सरकारसँग समन्वय गर्दै महासंघ अघि बढिरहेको बताउँदै ढुवानी व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउने जिम्मेवारी राज्यको भएको स्पष्ट पारे। काठमाडौँमा ट्रान्सपोर्ट नगरको आवश्यकता औँल्याउँदै उनले राज्यले आवश्यक जग्गा उपलब्ध गराई महासंघसँग सहकार्य गर्दै व्यवस्थापनमा अघि बढ्नुपर्ने बताए।

अध्यक्ष नेपालले ढुवानी क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धाका कारण समस्या उत्पन्न भएको भन्दै त्यसलाई न्यूनिकरण गर्न व्यवसायी स्वयं पनि जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे।

अधिवेशनले नयाँ नेतृत्व चयनसँगै संघको संगठनात्मक सुदृढीकरण, व्यवसायिक हक–हितको संरक्षण तथा ढुवानी व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउने विषयमा छलफल गर्दै आगामी कार्यदिशा तय गरेको छ।

कार्यक्रममा व्यवसायीहरूले नीतिगत सवालमा राज्यको उपेक्षाप्रति असन्तोष व्यक्त गर्दै ढुवानी क्षेत्रका समस्या तत्काल समाधान गर्न माग गरेका थिए। कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अच्युतराज खनाल, उपाध्यक्ष अरुणकुमार श्रेष्ठ, महासचिव पुष्पराज श्रेष्ठ, निवर्तमान अध्यक्ष विश्वनाथ खनाललगायतको उपस्थिति रहेको थियो।