काठमाडौँ । काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको ९९७५ नम्बरको यात्रुबाहक बस रामेछापको त्रिवेणी नजिक सेलेघाटबाट तामाकोशी नदीमा खस्दा कम्तीमा १० जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घटनामा १० जनाको मृत्यु भएको मन्थली नगरपालिका वडा नमबर ६ का वडा सचिव सकुन्तला माझीले जानकारी दिइन् । दुर्घटनापछि बस तामाकोशी नदीमा तैरिरहेको अवस्थामा रहेको बताइएको छ।
दुर्घटनामा परेका केही यात्रुका शव नदीको बहावसँगै बगिरहेको स्थानीय उर्वे माझीले बताए । केही यात्रुहरू पौडीएर ज्यान जोगाउन सफल भएको उनले जानकारी दिए ।
घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीहरू उद्धार तथा खोजी कार्यमा खटिएका छन्। प्रहरीले हालसम्म ६ जनालाई उद्धार गरी उपचारका लागि नजिकको अस्पताल पठाएको जनाएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। नदीमा बगेका शव र बेपत्ता यात्रुहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
घटनासम्बन्धी विस्तृत विवरण तथा मृतक र घाइतेको पहिचान हुन बाँकी रहेको छ। थप जानकारी आउन बाँकी छ।