काठमाडौँ । रामेछापको लिखु तामाकोशी गाउँपालिका क्षेत्रमा मंगलबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुने १२ जनाको सनाखत भएको छ। दुर्घटनामा बसमा सवार ९ पुरुष र ३ महिलासहित १२ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक सबैको शव मन्थली अस्पतालमा ल्याइएको छ।
मृत्यु हुनेहरूमा दोलखा, रामेछाप र सिन्धुली जिल्लाका विभिन्न स्थानका स्थानीय बासिन्दा रहेका छन्। मृतकहरूमा दोलखा जिल्लाको भिमेश्वर नगरपालिका-७ वर्ष २५ का बबि तामाङ र वर्ष ६० का मानबहादुर तामाङ, रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका-४ का वर्ष २८ का दिपेश बस्नेत, वडा नं. ७ का ३५ वर्षीय सानुमाया तामाङ, वर्ष ३१ की तारा तामाङ, वर्ष ३६ का भिमबहादुर तामाङ, १६ वर्षीया रमिता तामाङ र २५ वर्षीय दिपन्द्र बस्नेत रहेका छन्। त्यसैगरी सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका-६ का ३४ वर्षीय शिव श्रेष्ठको पनि मृत्यु भएको पुष्टि गरिएको छ।
दुर्घटनामा परी थप ८ जना घाइते भएका छन्। घाइतेमध्ये बस चालक मन्थली नगरपालिका-११ का वर्ष ३१ का सुसान्त थापा मगरको अवस्था सामान्य रहेको र उपचार पछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
अन्य घाइतेहरूलाई मन्थली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि ७ जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
काठमाडौँबाट रामेछापतर्फ जाँदै गरेको ना ५ ख ५७५ नम्बरको बस आज बिहान करिब १०ः३० बजे लिखु तामाकोशी गाउँपालिका–७ स्थित देउराली पुल नजिक सडकबाट खस्दा दुर्घटना भएको हो। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीयवासीको सहयोगमा तत्काल उद्धार कार्य गरिएको थियो।
