लोकतन्त्रमा कसले जनताको पक्षमा काम गर्यो, कसले गरेन-त्यसको अन्तिम फैसला मतपेटिकाले दिन्छ। यही नै लोकतन्त्रको सुन्दर पक्ष हो। तर कहिलेकाहीँ लोकतन्त्रमा यस्तो भइदिन्छ-लोकप्रिय काम गरेका, देश, जनता र परिवर्तनका लागि भूमिका खेलेका व्यक्तिले पनि जनताको मत प्राप्त गर्न सक्दैनन्।
यसको ज्वलन्त उदाहरण हुन् बिकास र परिवर्तनकी संवाहक ‘रेणु दाहाल’ र उज्यालोका नायक ‘कुलमान घिसिङ’। भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा यी दुबै पात्रले चुनावमा पराजित भए । रेणुले चितबन-३ बाट र कुलमानले काठमाडौँ-३ बाट हार ब्यहोर्नु परेको थियो ।
एक समय थियो, जतिबेला नेपाल अन्धकारमा डुबेको थियो। दैनिक १६ देखि १८ घण्टासम्मको लोडसेडिङले जनजीवन थलिएको थियो। उद्योगहरू बन्द हुने अवस्थामा थिए। विद्यार्थीहरू बत्तीको पर्खाइमा अन्यौलपूर्ण अवस्थामा थिए। हरेक नेपालीका घर र बस्तीहरू अध्याँरा थिए। नागरिकहरू मैनबत्तीको सहारामा जीवन बिताउन बाध्य थिए। त्यही समय उज्यालोको प्रकाश बनेर कुलमान घिसिङ विद्युत् प्राधिकरणको पदमा नियुक्त भए ।
नेपाल विद्युत् प्राधिकरणको नेतृत्व सम्हाल्दै गर्दा उनले असम्भव जस्तै लाग्ने काम सम्भव बनाए। लोडसेडिङ अन्त्य भयो, शहरहरू उज्याला भए, र नेपालीहरूले पहिलोपटक अनुभूति गरे-राज्यले चाह्यो भने परिवर्तन सम्भव छ। त्यसैले धेरैका लागि कुलमान केवल प्रशासक होइनन्, उज्यालोका प्रतीक हुन्।
त्यसैगरी, चितवनको भरतपुर महानगरपालिकामा रेणु दाहालले गरेको काम पनि कम महत्वपूर्ण छैन। सडक विस्तार, पूर्वाधार विकास, पार्क, नदीतट संरक्षण र शहरको योजनाबद्ध विकासले भरतपुरको स्वरूप बदलिएको छ। उनले रातदिन नभनी भरतपुरको विकासका लागि मेहनत गरिरहिन्।
तर उनको मेहनत र कामको चौतर्फी प्रशंसा भए पनि भरतपुरका जनताले उनलाई जिताउन सकेनन्। केही दिनअघि सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी भरतपुर-३ बाट पराजित भइन्।
यता उज्यालो नेपालका नायक कुलमान घिसिङले पनि चुनाव हार्नु धेरैका लागि आश्चर्यको विषय बन्यो। जसले देशलाई अन्धकारबाट उज्यालोमा ल्याउने नेतृत्व प्रदान गरे । जसको नाम जनताको विश्वाससँग जोडिएको थियो, त्यही व्यक्तिले चुनावमा अपेक्षित मत पाउन सकेनन्।
चुनावमा सधैं कामको मात्र हिसाब हुँदैन। चुनावमा विचार, दलगत राजनीति, संगठनको शक्ति, स्थानीय समीकरण, समयको लहर र कहिलेकाहीँ प्रचारको प्रभाव पनि उत्तिकै बलियो हुने गर्छ । त्यसैले जित्ने आशा गरेका व्यक्तिले समेत चुनावमा हार ब्यहोर्नु परेको छ ।
रेणु र कुलमानको हकमा ‘काम गर्ने मान्छेलाई पनि जनताले मन पराउँदैनन्?’ भन्ने प्रश्न उठ्न थालेको छ । उत्तर त्यति सरल छैन। नेपाली जनताले काम गर्ने मानिसलाई सधैं सम्झन्छन्। इतिहासमा धेरै उदाहरण छन्, जहाँ चुनावी हारले व्यक्तिको योगदान मेटाउन सकेन। चुनाव हार्नु राजनीतिक परिणाम हुन सक्छ, तर जनताको मन जित्नु भनेको दीर्घकालीन सम्मान हो।
कुलमान घिसिङले नेपाललाई अन्धकारबाट उज्यालोतर्फ डोर्याए। रेणु दाहालले एउटा शहरको विकासको नयाँ कथा लेख्ने प्रयास गरिन्। चुनावी नतिजाले यी कामहरूको मूल्य घटाउँदैन। बरु समय बित्दै जाँदा समाजले यी प्रयासहरूलाई अझ स्पष्ट रूपमा सम्झन्छ।
लोकतन्त्रमा हार र जित क्षणिक हुन्छन्, तर कामको प्रभाव दीर्घकालीन हुन्छ। सायद यही कारण हो-आज उनीहरू चुनाव हारेर पनि धेरै नेपालीको मनमा जितिरहेका छन्।
नेपालको लोकतन्त्रमा चुनाव केवल मतगणनाको परिणाम मात्र होइन । यो जनताको भावना, अपेक्षा र समयको मनोविज्ञानको प्रतिबिम्ब पनि हो। तर कहिलेकाहीँ यस्तो पनि हुन्छ-नतिजा एउटा हुन्छ, तर जनताको मनभित्र बसेको मूल्यांकन अर्कै हुन्छ।
कुलमान घिसिङ र रेणु दाहालको चुनावी हार त्यही एउटा उदाहरण हो। लोकतन्त्रको सुन्दरता यही हो, यहाँ हारले पनि कहिलेकाहीँ सम्मान बोकेर आउँछ। र केही हारहरू यस्ता हुन्छन्, जसले व्यक्तिलाई मतपेटिकामा होइन, इतिहाँसमा जिताउँछन्।