त्याग र समर्पणको अर्को नाम गीता गहतराजः जनमुक्ति सेनाको कमाण्डरदेखि समानुपातिक उम्मेदवारसम्म

दियोपोस्ट संवाददाता  

नेपालको पश्चिमी पहाडको संघर्षशील भूमि रोल्पाबाट उदाएकी एक साहसी छोरी हुन्- गीता गहतराज ! दलित समुदायमा जन्मिएकी उनले बाल्यकालदेखि नै विभेदको तीतो यथार्थ भोगिन्। समाजले थोपरेको छुवाछुत, अपमान र असमान व्यवहारले उनको मनमा एउटा गहिरो प्रश्न रोपिदियो-“किन हामी सधैं पछाडि?” यही प्रश्न नै उनको जीवनको दिशा बन्यो।

विभेदबाट विद्रोहसम्म

जनयुद्ध औपचारिक रूपमा सुरु हुनुअघि नै उनी वर्गसंघर्षको आन्दोलनमा सक्रिय भइसकेकी थिइन्। तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)मा आवद्ध हुँदै उनले उत्पीडित वर्ग र समुदायको मुक्ति नै आफ्नो जीवनको लक्ष्य बनाइन्। तत्कालीन राज्यसत्ताले ‘किलो सेरा टू’ र ‘रोमियो’ जस्ता दमनकारी अभियान चलाएर आन्दोलन दबाउन खोज्दा उनी झन् दृढ बनिन्। आस्थाकै आधारमा गरिएको दमन, गाउँघरमा गरिएको अपमान र अत्याचारले उनको चेतनालाई झन् तेज बनायो।

सानै उमेरमा उनले बुझिन्-अधिकार कसैले किस्तिमा सजाएर दिँदैन, लडेर लिनुपर्छ। त्यसैले उनी पूर्णकालीन रूपमा आन्दोलनमा होमिइन्।

जनमुक्ति सेनाको कमान्डर

२०५० सालतिर उनी अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को जिल्ला कमिटी सदस्य भइन्। महिला संगठन, टोल कमिटी र गाउँस्तरका संरचना निर्माण गर्दै उनी संगठन विस्तारमा लागिरहिन्। पछि दलित मुक्ति मोर्चाको कोषाध्यक्षको जिम्मेवारी सम्हालिन्।

जनयुद्ध सुरु भएपछि उनी पूर्णकालीन रूपमा जनसंघर्षमा लागिन् । त्यसबेलाका उनका सहयात्री थिए, ओनसरी घर्ती, कमला रोका आदी । उनी जनयुद्धमा लागेपछि जनमुक्ति सेनामा प्रवेश गरिन्। उनले जनमुक्ति सेनाको कम्पनी कमान्डर, कम्पनी कमिसार, बटालियन कमिसार हुँदै ब्रिगेड तहसम्मको नेतृत्व सम्हालिन्। खारा, सन्धिखर्क र बेनीजस्ता मोर्चाहरूमा उनी अग्रपंक्तिमा लडिन्।

त्यो समय सम्झँदा उनी भन्छिन्- ‘त्यो ऊर्जा कहाँबाट आउँथ्यो थाहा हुन्थेन। “बाँचे संसार, मरे सहिद” भन्ने अटल विश्वासका साथ उनीहरू लडे।’ सहिद शब्द उनलाई महान लाग्थ्यो। मृत्युको डरभन्दा ठूलो थियो विचारप्रतिको निष्ठा। डराएर लडाइँ जितिन्न भन्ने विश्वासले उनलाई निर्भीक बनाएको थियो।

गुमाएका वर्षहरू, पाएको गर्व

दश वर्षे जनयुद्धमा उनले जेल बाहेक सबै कष्ट भोगिन्। कैयौँ पटक मृत्युबाट बचेकी छन्-सेल्टरमा सेनाले घेरा हाल्दा माथिबाट हाम फालेर भाग्नु, जंगलमा आमनेसामने हुँदा ज्यान जोगाउनु-यी सबै उनका जीवनका कठोर अध्याय हुन्।

तर सबैभन्दा ठूलो त्याग थियो-बाल्यकाल र युवावस्थाको सुनौलो समय। हाँस्ने, खेल्ने, रमाउने उमेर भूमिगत जीवनमा बित्यो। आमाको सानैमा निधन, बाबुमाथि राज्यको यातना, परिवारबाट टाढा बस्नुपरेको पीडा-यी सबै उनले आन्दोलनको नाममा स्वीकार गरिन् ।
उनी भन्छिन्-“त्यो समय गुमाएँ, तर पछुतो छैन। गर्व छ।”

उनको गर्व केमा छ भने आज देशमा समानुपातिक समावेशी प्रणाली स्थापित भएको छ। दलित महिला पनि वडादेखि संसदसम्म पुग्ने बाटो खुलेको छ। उनका अनुसार, यो अधिकार दश वर्षे जनयुद्धको बलिदानबाट आएको उपलब्धि हो।

पदभन्दा ठूलो योगदान

उनकी सहयात्री ओनसरी घर्ती नेपालकी पहिलो महिला सभामुख बनिन्। त्यसमा उनी गर्व गर्छिन्। आफ्नै साथीको सफलतामा उनी हर्षित हुन्छिन्। आफू पदमा नपुगेकोमा कुनै ग्लानी छैन, किनकि उनी पदभन्दा आन्दोलनको योगदानलाई ठूलो मान्छिन्।

विगतमा समानुपातिक सूचीमा सिफारिस भए पनि सांसद बन्ने अवसर नपाए पनि उनी निरन्तर पार्टीमै सक्रिय रहिन्। अहिले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक उम्मेदवारका रूपमा उनको नाम सिफारिस भएको छ। पार्टीले मूल्यांकन गरेर पहिलो नम्बरमा राखेकोमा उनी जिम्मेवारीप्रति अझ गम्भीर छिन्।

कसैले उनलाई केवल कुनै नेताकी पत्नीका रूपमा बुझ्ने प्रयास गर्दा उनी स्पष्ट भन्छिन्-‘आन्दोलनमा म धेरै अघि देखि थिए । मेरो श्रीमान भन्दा पहिले नै म जनयुद्धमा होमिएकी थिएँ ।’ आफूले आफ्नै संघर्षबाट यो स्थान बनाएको उनको दृढ दाबी छ।

परिवर्तन अधुरो छ

उनको दृष्टिमा जनयुद्ध परिवर्तनको संवाहक थियो। गणतन्त्र, संविधानसभा, समावेशी व्यवस्था-यी उपलब्धि सहजै आएका होइनन्। तर उनी सन्तुष्ट मात्र छैनन्। उनका अनुसार, अधिकार पूर्ण रूपमा स्थापित भइसकेको छैन । दलित र उत्पीडित समुदायका लागि अझै धेरै काम बाँकी छ।

गीता गहतराजको जीवन एउटा उदाहरण हो-विभेदको पीडाबाट उठेको विद्रोह, विद्रोहबाट जन्मिएको नेतृत्व, र नेतृत्वबाट निर्माण भएको परिवर्तन।

उनले आफ्नो युवावस्था गुमाइन्, तर एउटा पुस्तालाई बोल्ने साहस दिइन्। उनले व्यक्तिगत सुख त्यागिन्, तर समुदायलाई अधिकारको ढोका उघारिदिइन्।

उनको कथा केवल एउटा व्यक्तिको जीवनी होइन, संघर्ष, बलिदान र अडिग विश्वासको कथा हो। उनको जीतले ६० लाख दलित समुदाय र आधा हिस्सा ओगट्ने महिलाहरुको विजयलाई प्रतिनिधित्व गर्दछ ।

सिफारिस