श्रीकृष्ण बिक मृत्यु प्रकरणः इन्सपेक्टरसहित दुई जनामाथि कारबाही सिफारिस

दियोपोस्ट संवाददाता  

काठमाडौँ । सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा शंकास्पद अवस्थामा मृत फेला परेका श्रीकृष्ण विक प्रकरणमा गठित छानबिन समितिले प्रतिवेदन प्रहरी प्रधान कार्यालयमार्फत गृह मन्त्रालयमा बुझाएको छ ।

समितिले तयार पारेको प्रतिवेदनमा इलाका प्रहरी कार्यालय खुर्कोटका इन्सपेक्टर बसन्त भुजेल र हिरासत ड्यूटीमा खटिएका प्रहरी जवान अर्जुन सिंहमाथि विभागीय कारबाही सिफारिस गरिएको छ ।

सिफारिसअनुसार इन्सपेक्टर भुजेललाई खुर्कोटबाट सरुवा गरी बागमती प्रदेश कार्यालय पठाइएको प्रहरीले जनाएको छ । खुर्कोटमा भने जिल्ला प्रहरी कार्यालयबाट अर्का इन्सपेक्टरलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, घटनाका क्रममा लापरबाही भएको भन्दै खुर्कोटमा कार्यरत अन्य १० जना प्रहरी कर्मचारीलाई ध्यानाकर्षण तथा सचेत गराउन पनि प्रतिवेदनमा सिफारिस गरिएको बताइएको छ ।

घटनाबारे छानबिन गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत डीआईजी दिनेशकुमार आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो । समितिले तयार पारेको प्रतिवेदन प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाइसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले जानकारी दिए ।

प्रहरीका अनुसार ७ वैशाख साँझ करिब ६ बजेतिर हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका विकलाई उद्धार गरी सिन्धुली अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । घटनापछि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ११ वैशाखमा छानबिन समिति गठन गरेका थिए ।

समितिमा यूएन शाखाका एसपी रवीन्द्रनाथ पौडेल, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का इन्स्पेक्टर इन्द्रजित सुनार, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर प्रेम रेग्मी र सई राजेश्वर देवकोटा सदस्य रहेका थिए । समितिले भिसेरा परीक्षणदेखि ‘होल बडी’ पोस्टमार्टमसम्मका प्रक्रिया पूरा गरेर प्रतिवेदन तयार पारेको हो ।

घटनाको पृष्ठभूमिअनुसार मृतक श्रीकृष्ण विक र खोटाङकी एक किशोरीबीच करिब दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ । २८ चैतदेखि किशोरी बेपत्ता भएको भन्दै परिवारले ३० चैतमा प्रहरी वृत्त सातदोबाटोमा खोजतलासका लागि निवेदन दिएका थिए ।

प्रहरीका अनुसार ३ वैशाखमा किशोरी र श्रीकृष्ण विक आफन्तसहित प्रहरी वृत्त सातदोबाटो पुगेका थिए । त्यसक्रममा किशोरी पक्षले बलात्कारको जाहेरी दर्ता गराएका थिए । घटनास्थल सिन्धुली रहेको र किशोरीको उमेर १६ वर्ष रहेको खुलेपछि ४ वैशाखमा मुद्दा सिन्धुली पठाइएको थियो । त्यसपछि श्रीकृष्ण विकलाई इलाका प्रहरी कार्यालय खुर्कोटमा राखेर बलात्कार मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले भने किशोरीलाई दबाब र झुक्याएर बलात्कार मुद्दामा हस्ताक्षर गराइएको आरोप लगाउँदै आएका छन् ।

घटनापछि रास्वपाका सांसद खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, खिमा विश्वकर्मा तथा नेकपाका सांसद गणेश विकलगायतले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा धर्ना दिँदै निष्पक्ष छानबिनको माग गरेका थिए ।