काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिका-१ जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा २० जनाको ज्यान गएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।
मृतकहरू मध्ये अधिकांश रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ टाकुराका रहेका छन्। ज्यान गुमाउनेहरूमा गोर्ख बहादुर बुढाथोकी (३२), तिलकुमारी बुढाथोकी (५३), युवा बुढाथोकी (२८), दिव्यन बुढाथोकी (१०), सृजना बुढाथोकी (२४), सुदीप बुढाथोकी (१३), ओमकुमारी बुढाथोकी (४०), मीना कामी (६०), लक्ष्मी शाह (६०) र रुक्मिणा बस्नेत रहेका छन्।
त्यसैगरी भुमे गाउँपालिका-५, रुकुम पूर्वका टेक प्रसाद बुढा पनि दुर्घटनामा परी ज्यान गुमाएका छन्।
त्यसै गरि दाङको घोराही उपमहानगरपालिका-१५ रतनपुरका दोरपती जिसी (५४), तिला जिसी (३२), जेनिस जिसी (७), जेनिसा जिसी (१२), एलिना जिसी (२५), संयोग जिसी (७) र यमबहादुर जिसी (उमेर नखुलेको)को पनि घटनामा मृत्यु भएको पुष्टि भएको छ।
यस्तै, घोराही-१३ दाङका धनमाया विष्ट (हालः सिस्ने-५, रुकुम पूर्व) र बेदु कामी (४२) समेत दुर्घटनामा परेर ज्यान गुमाएका छन्। बेदु कामी उक्त जिपका चालक रहेको जनाइएको छ।
दुर्घटनामा समिर कामी (३२) घाइते भएका छन्। उनी जिपको छतबाट हाम फालेर ज्यान जोगाउन सफल भएका थिए। उपचारपछि उनी घर फर्किएको जनाइएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।