ट्रम्प-सी भेटवार्ता : मित्रताको भाषाभित्र बढ्दो रणनीतिक तनाव

दियोपोस्ट संवाददाता  

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिङपिङ बीच बिहीबार बेइजिङमा भएको बहुप्रतीक्षित शिखर भेटवार्ता औपचारिक मित्रता, कूटनीतिक संकेत र गहिरिँदो रणनीतिक अविश्वासबीच सुरु भएको छ ।

बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आयोजित औपचारिक भेटअघि ट्रम्पले सीको खुलेर प्रशंसा गर्दै उनलाई “महान नेता”को संज्ञा दिए । उनले सीसँगको सम्बन्धलाई “सम्मानको विषय” भन्दै अमेरिका र चीनबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

ट्रम्पले भने, “कहिलेकाहीँ मानिसहरूले मैले यस्तो भनेको मन पराउँदैनन्, तर म सत्य कुरा नै भन्छु । तपाईंसँग हुनु सम्मानको कुरा हो, तपाईंको साथी हुनु पनि सम्मानको कुरा हो ।”

तर सीको सन्देश भने बढी सतर्क र रणनीतिक देखियो । उनले विश्व समुदायले अमेरिका र चीन ‘थुसिडाइड्स ट्र्याप’बाट जोगिन सक्छन् कि सक्दैनन् भनेर हेरिरहेको बताए । विदेश नीति अध्ययनमा प्रयोग हुने उक्त अवधारणाले उदाउँदो शक्ति र स्थापित शक्तिबीचको प्रतिस्पर्धा अन्ततः युद्धमा परिणत हुनसक्ने जोखिमलाई संकेत गर्छ ।

सीले सहकार्यले दुवै राष्ट्रलाई फाइदा पुग्ने र द्वन्द्वले दुवैलाई नोक्सान पुर्‍याउने उल्लेख गर्दै अमेरिका र चीन प्रतिद्वन्द्वीभन्दा साझेदार बन्नुपर्ने धारणा राखे । उनले साझा समृद्धिका लागि नयाँ युगअनुसार प्रमुख राष्ट्रबीच सम्बन्धको सही मार्ग तय गर्नुपर्नेमा जोड दिए ।

सीले यसअघि पनि सन् २०१४ देखि विभिन्न अवसरमा यही अवधारणा उठाउँदै आएका छन् । उनले पूर्वअमेरिकी राष्ट्रपति जो वाइडेन सँगको भेटवार्तामा समेत यो विषय दोहोर्‍याएका थिए । ट्रम्पले भ्रमणलाई सकारात्मक र मैत्रीपूर्ण बनाउन खोजिरहेका बेला सीले पुनः यही चेतावनी दोहोर्‍याउनु अर्थपूर्ण रूपमा हेरिएको छ ।

ट्रम्पको स्वागत अत्यन्त भव्य शैलीमा गरिएको थियो । तियानआनमेन क्षेत्रमा रहेको ग्रेट हल अफ द पिपुलमा क्यानन सलामी, सैनिक परेड, अमेरिकी र चिनियाँ राष्ट्रिय गान तथा विशाल रातो गलैँचाबीच दुवै नेताले हात मिलाएका थिए । स्कुलका बालबालिकाले दुवै देशका झण्डा फहराउँदै स्वागत गरेका थिए ।

भ्रमणका क्रममा ट्रम्पले टेम्पल अफ हेवनको अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ । १५ औँ शताब्दीको उक्त धार्मिक परिसरलाई चीनमा स्वर्ग र पृथ्वीबीचको सम्बन्धको प्रतीक मानिन्छ । दुवै नेता बिहीबार हुने राजकीय भोजमा पनि सहभागी हुनेछन् ।

यद्यपि भ्रमणको मुख्य केन्द्र व्यापार, इरान र विश्व अर्थतन्त्रसँग जोडिएका जटिल विषय बनेका छन् । ह्वाइट हाउसले ट्रम्प कुनै ठोस उपलब्धिविना चीन नफर्कने संकेत दिएको छ । अमेरिकी प्रशासनले चीनबाट अमेरिकी सोयाबिन, गोमांस र विमान खरिदबारे स्पष्ट प्रतिबद्धता खोजिरहेको छ । साथै व्यापार विवाद समाधानका लागि संयुक्त व्यापार बोर्ड गठन गर्ने प्रस्तावमा पनि छलफल भइरहेको जनाइएको छ ।

इरानसँग चीनको निकट आर्थिक सम्बन्धले परिस्थितिलाई थप संवेदनशील बनाएको छ । इरान–इजरायल युद्ध र अमेरिकाको प्रत्यक्ष संलग्नताले विश्व ऊर्जा बजारमा दबाब बढाएको छ । स्टे«ट अफ हार्मुज प्रभावकारी रूपमा बन्द हुँदा तेल र प्राकृतिक ग्यास ढुवानी प्रभावित भएको छ, जसले विश्वव्यापी आर्थिक वृद्धिमा असर पारिरहेको छ ।

यही पृष्ठभूमिमा इरानमाथि चीनले कस्तो भूमिका खेल्ने भन्ने विषय ट्रम्प-सी वार्ताको महत्वपूर्ण एजेन्डा बनेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुवियोले चीनलाई इरानमाथि आफ्नो प्रभाव प्रयोग गर्न आग्रह गरिने बताएका छन् । उनले विश्व अर्थतन्त्रमा देखिएको दबाब चीनकै हितविपरीत रहेको उल्लेख गर्दै तनाव कम गर्न बेइजिङले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखे ।

तर ट्रम्पले भने आर्थिक दबाबका कारण इरानप्रतिको आफ्नो अडान परिवर्तन नहुने स्पष्ट पारेका छन् । ह्वाइट हाउसबाट प्रस्थान गर्ने क्रममा उनले इरानलाई आणविक हतियार बनाउन नदिने विषयमा आफू केन्द्रित रहेको बताएका थिए ।

त्यसपछि उपराष्ट्रपति जेडी भ्यान्सले ट्रम्पको भनाइलाई फरक ढंगले व्याख्या गरिएको प्रतिक्रिया दिएका छन् । उनले ट्रम्पले अर्थतन्त्रलाई महत्व नदिएको अर्थ नलाग्ने दाबी गरे ।

भ्रमण टोलीमा प्रविधि, रक्षा, कृषि र वित्त क्षेत्रका उच्च अधिकारी तथा व्यवसायीहरूको ठूलो समूह सहभागी छ । यसले भ्रमण केवल राजनीतिक मात्र नभई आर्थिक र रणनीतिक दृष्टिले पनि महत्वपूर्ण रहेको संकेत दिएको छ ।

अमेरिका र चीन गत वर्ष व्यापार युद्धविराममा पुगेका थिए, जसले एकअर्कामाथि थप शुल्क लगाउने चेतावनीलाई केही समयका लागि रोकिएको थियो । ह्वाइट हाउसका अनुसार उक्त सहमति विस्तार गर्ने विषयमा अझै छलफल भइरहेको छ । तर ट्रम्पको यस भ्रमणका क्रममा त्यसबारे कुनै ठोस घोषणा हुने वा नहुने अझै स्पष्ट भइसकेको छैन ।