काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीस्थित उत्तरपूर्वी क्षेत्र वेलकममा चारतले भवन भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने एक वर्षीय बालकसहित ८ जना घाइते भएका छन्। दुर्घटना शनिबार बिहान भएको हो।
उद्धारकर्मीहरूका अनुसार भवनको भग्नावशेषमा पुरिएकामध्ये धेरैलाई बाहिर निकालिएको छ र थप खोजी तथा उद्धार कार्य जारी राखिएको थियो।
प्रहरीका अनुसार बिहान करिब ७ बजेर ४ मिनेटमा वेलकम क्षेत्रको इदगाह नजिक भवन भत्किएको सूचना प्राप्त भएको थियो। घटनास्थलमा पुग्दा भवनका तीन तला पूर्ण रूपमा ढलेको अवस्थामा भेटिएका थिए। घाइतेमध्ये सात जनालाई जेपीसी अस्पताल र एक जनालाई जीटीबी अस्पतालमा भर्ना गरिएको छ।
मृतकहरूमा भवनका मालिक अब्दुल मतलूब (५०), उनकी पत्नी राबिया (४६), छोरा जावेद (२३) र अब्दुल्ला (१५), छोरी जुबिया (२७) तथा दुई वर्षीया नातिनी फोजिया रहेका छन्। उनीहरूको शव भग्नावशेषबाट निकालेर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घाइते हुनेहरूमा मतलूबका अन्य छोरा परवेज (३२), उनकी पत्नी सिजा (२१), उनीहरूको एक वर्षीय छोरा अहमद तथा नावेद (१९) रहेका छन्। भवन ढल्दा छिमेकी घरमा समेत क्षति पुगेको थियो, जसका कारण त्यहाँ बस्ने केही व्यक्तिहरू पनि घाइते भएका छन्।
घटनापछि राष्ट्रिय विपद् प्रतिक्रिया बल (NDRF) दमकल विभाग, प्रहरी र अन्य उद्धार टोलीहरू परिचालन गरिएको थियो। साँघुरा गल्ली र बाक्लो बस्तीका कारण उद्धार कार्यमा कठिनाइ भएको स्थानीय प्रशासनले जनाएको छ।
स्थानीय बासिन्दाहरूका अनुसार भवन ढल्नुअघि ठूलो आवाज सुनिएको थियो र केही मिनेटमै सम्पूर्ण संरचना भत्किएको थियो। प्रारम्भिक रूपमा भवन कमजोर संरचनाका कारण ढलेको आशंका गरिएको भए पनि वास्तविक कारणबारे अनुसन्धान सुरु गरिएको छ।
यो घटनाले दिल्लीका घना बस्तीहरूमा रहेका पुराना तथा कमजोर भवनहरूको सुरक्षाबारे पुनः गम्भीर प्रश्न उठाएको छ।