ललितपुर । दियोपोष्ट डटकमकी सम्पादक रीता बुढाथोकी सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी छन्। नेपाल पत्रकार महासंघ ललितपुर शाखाको २५औँ वार्षिक साधारण सभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा बुढाथोकीलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
क्यान्सर रोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्न पत्रकारितामार्फत पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै उनलाई नदगसहित सम्मान गरिएको महासंघले जनाएको छ। स्वास्थ्य पत्रकारिताको क्षेत्रमा सक्रिय बुढाथोकीले क्यान्सर रोगको रोकथाम, उपचार, जोखिम तथा सचेतनासम्बन्धी विषयलाई निरन्तर रूपमा उठाउँदै आमनागरिकलाई सुसूचित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन्। सोही योगदानको मूल्याङ्कन गर्दै उनलाई ‘सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरी कार्कीले जानकारी दिए ।
कार्यक्रममा राजधानी दैनिकका डिल्ली आचार्य र रातोपाटीका नरेश ज्ञवालीलाई ‘हीरा-सिद्धि क्रियाशील पत्रकारिता पुरस्कार’, नयाँसडक दैनिकका ज्ञानप्रसाद पौडेललाई ‘धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुरस्कार’ तथा नेपालखबरका जनार्दन पोखरेललाई ‘राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो।
त्यसैगरी, नेपाल टेलिभिजनका ईश्वर महर्जन र मिडियासञ्चार डटकमका केदारनाथ दाहाललाई ‘ललितपुर पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो। उनीहरूलाई ललितपुरका विषयवस्तु उजागर गर्न महत्वपूर्ण योगदान पुर्याएको भन्दै पुरस्कृत गरिएको हो।
पूर्व प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रकारिताको व्यावसायिक विकास, प्रेस स्वतन्त्रता र संस्थागत सुदृढीकरणका विषयमा समेत छलफल गरिएको थियो।
साधारण सभाको बन्द सत्रमा शाखाका सचिव दीपक अर्यालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष कृष्ण पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको महासंघले जनाएको छ।