काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आरोपमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार विमानस्थल निर्माणका क्रममा मूल सम्झौताविपरीत ठेकेदार कम्पनीलाई कर छुट प्रदान गरी आर्थिक अनियमितता गरिएको आरोप लगाइएको छ । सोही आधारमा आयोगले विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो ।
आयोगले पूर्वअर्थमन्त्री कार्कीसहित अन्य प्रतिवादीहरूबाट तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार १६० रुपैयाँ बिगो असुल गर्न मागदाबी गरेको छ ।
मुद्दा दायर गरिएका अन्य व्यक्तिहरूमा तत्कालीन अर्थसचिव शङ्करप्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, तत्कालीन सहसचिवहरू सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव तथा तत्कालीन सहसचिव केबल भण्डारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम तथा निवर्तमान महानिर्देशक प्रदीप अधिकारी रहेका छन् ।
त्यसैगरी उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी र इन्जिनियर योगेश अर्यालविरुद्ध पनि आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
आयोगले विमानस्थल निर्माणमा संलग्न चिनियाँ कम्पनी सिएएमसी, उसका अध्यक्ष, परियोजना व्यवस्थापक तथा कम्पनी व्यवस्थापकविरुद्ध समेत मुद्दा चलाएको छ ।