नेकपा(बहुमत)का नेताले परस्त्रीसंग लागेर आफ्नै श्रीमतीलाई ‘सम्बन्ध विच्छेद’का लागि दबाब दिएको आरोप

दियोपोस्ट संवाददाता  

काठमाडौँ । जनयुद्धकालीन समयमा बन्दुक साटेर गरिएका भनिएका अन्तरजातीय ‘जनवादी विवाह’ पछिल्ला वर्षहरूमा सम्बन्ध विच्छेदसम्म पुग्दै विघटन हुँदै गएको घटनाक्रम फेरि एक पटक चर्चामा आएको छ। नेकपा (बहुमत)का पोलिटब्युरो सदस्य गोकुल पराजुलीले परस्त्रीसँग सम्बन्धमा रहेर आफ्नी श्रीमतीलाई सम्बन्ध विच्छेदका लागि दबाब दिएको आरोप लागेको हो ।

पीडित बिन्दा बिक (नाम परिवर्तन)ले आफ्ना पति पराजुलीले लामो समयदेखि सम्वन्ध बिच्छेदका लागि आफूलाई मानसिक रूपमा दबाब दिँदै आएको बताएकी छन् । बझाङ माइती घर भएकी बिकले आफू १३ वर्षकै उमेरमा जनयुद्धमा सहभागी भएको र जनमुक्ति सेनामा रहेर कास्की कार्यक्षेत्र तोकिएपछि पोखरा आएको बताइन् । पोखरामा पराजुलीसँग भेट भएको र त्यही क्रममा प्रेम सम्बन्ध विकसित भएको थियो ।

उनका अनुसार परिवारको स्वीकृति र तत्कालीन पार्टी नेतृत्वको उपस्थितिमा २०६५ सालमा जनवादी विवाह गरिएको थियो। सुरुका वर्षहरूमा सम्बन्ध राम्रो रहेको, आर्थिक तथा सामाजिक संघर्षका बीच पनि दुवै मिलेर जीवन अघि बढाएको उनले बताइन्।

तर समयक्रमसँगै सम्बन्धमा दरार आउन थालेको र सन्तान जन्मिएपछि श्रीमानको व्यवहार परिवर्तन भएको उनको आरोप छ। हाल दुई छोरासहित आफू एक्लै संघर्ष गरिरहेको उनले बताइन् ।

पीडित बिकका अनुसार पछिल्ला वर्षहरूमा श्रीमान पराजुली एक महिलासँग सम्बन्धमा रहेको र सोही कारण घरपरिवारमा दूरी बढेको हो। उनले भनिन्, ‘उहाँ मबाट टाढा हुन खोज्नुको कारण दुइवटा छन् । पहिलो कारण उहाँ एक जना महिलासंग सम्वन्धमा हुनु हुन्छ । दोस्रो कारण म कथित तल्लो जातको भएका कारण उहाँको सामाजिक प्रतिष्ठामा आँच आएको पनि हुन सक्छ । उहाँले मलाई कारण नबताई बारम्बार सम्बन्ध विच्छेद गर्न दबाब दिनुहुन्छ।’

बिवाहका केही वर्ष राम्रै भएपनि पछिल्ला केही वर्षयता श्रीमानको साथ नपाएको उनजको गुनासो छ । ‘५/६ वर्ष जति राम्रै साथ पाएँ । त्यसपछिको यात्रा त्यस्तै त्यस्तै भयो । केही वर्षयता बोलचाल हुने, घरायसी कुरामा छलफल हुने केही छैन । घरमा आउन मन लागे आउनु हुन्छ । जान मन लागे जानु हुन्छ । नत्र काठमाडौँ तिरै बस्नु हुन्छ,’ उनले भनिन् ।

जातीय विभेदविरुद्ध संघर्ष गर्दै अन्तरजातीय विवाह गरेको भएपनि अहिले आफैं पीडित भएको भन्दै उनले दुखेसो पोखिन् । भन्छिन्, ‘त्यतिबेला मैले अन्तरजातीय बिवाह गर्दा मेरो माइतीले अनुमति दिनु भएको थिएन । भोलि दुख हुन्छ, परिस्थिति अर्कै हुन्छ भनेर मान्नु भएको थिएन । तर, हामी बैचारिक हिसाबले माथि उठेको हुँदा हाम्रो प्रेममा जात कहिल्यै आउनु हुँदैन र परिवर्तन आफैबाट सुरु गर्नु पर्छ भनेर मैले माइती तिर कन्भिन्स गराएँ । तर आज यस्तो भयो,’ उनले दुखेसो पोखिन् ।

बिवाह पछि गृहस्थी जीवन बसाल्नका लागि आफुले निकै संघर्ष गर्नु परेको उनले बताइन् । तर श्रीमानले आफ्नो संघर्ष नबुझी परस्त्रीसंग लागेर सम्वन्ध बिच्छेदका लागि दवाव दिएको उनको भनाई छ ।

‘म जनयुद्धबाट आएको मान्छे । खुल्ला राजनीति गर्नु पर्छ, महिला सशक्तिकरण हुनु पर्छ भन्ने धारणा राख्थे । तर, दुबै जना राजनीतिमा लागेपछि घर परिवार सबै लथालिङ्ग हुने जस्तो लागेर मैले उहाँलाई पूर्ण रुपमा राजनीतिमा छाडिदिए,’उनले भनिन्, ‘बालबच्चा भएपछि मैले पनि घर परिवार सम्हाल्नु पर्ने भयो । बुढी भइसकेकी आमा, साना बच्चा, खेती पाती सबै छोडेर पूर्णकालिन राजनीति गर्न असम्भव जस्तै भयो । त्यसपछि मैले राजीनितिबाट सन्यास लिएँ । उहाँलाई पूर्णकालिन राजनीतिका लागि छोडिदिएँ,’

उनी अहिले कृषि कार्य, पशुपालन र साना व्यवसायमार्फत परिवार धानिरहेकी छन्। ‘आर्थिक आम्दानीको कुनै स्रोत थिएन । त्यसैले मैले करिब ४ रोपनी जति जग्गा भाडामा लिएर खेती गरेकी छु । ३ वटा गाई पालेकी छु । अलिकति तरकारी खेती गरेकी छु । यस्तै गरेर बच्चाको पढाई र घर खर्च चलाउँदै आएकी छु ।’

उनका दुई जना छोराहरु छन् । ठुलो छोराले भर्खरै एसइइ परीक्षा उत्तिर्ण गरको र सानो छोराले कक्षा ४ मा अध्ययन गर्दै गरेको उनले बताइन् । दुई जना बच्चाको पढाई र घर खर्चका आफैले जोहो गर्दै आएता पनि श्रीमानको साथ नपाएको उनको गुनासो छ ।

उनले भनिन्, “मैले वर्ग संघर्षका लागि बन्दुक उठाएँ, महिला मुक्ति र जातीय मुक्तिको लागि लडें, तर आज आफ्नै घरभित्र न्याय पाउन संघर्ष गर्नुपरेको छ।”

उनले जातीय कारण पनि अप्रत्यक्ष रूपमा सम्बन्ध टुट्ने कारण हुन सक्ने आशंका व्यक्त गरेकी छन्। यद्यपि पराजुलीले यस्तो आरोप अस्वीकार गर्दै आएका छन्।

पीडितका अनुसार पछिल्लो समय श्रीमान घर नआउने, बालबच्चाप्रति बेवास्ता गर्ने र काठमाडौँमा बस्ने गरेको अवस्था रहेको छ । पीडितका अनुसार २०८२ जेठमा पराजुलीले कास्की जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्। उक्त मुद्दा हाल अदालतमा विचाराधीन अवस्थामा रहेको छ।

पीडित बिकले भने आफू सम्बन्ध विच्छेदमा सहमत नभएको र विशेषगरी दुई छोराको भविष्यका कारण सम्बन्ध कायम राख्न चाहेको बताएकी छन्। “म बिना कारण उहाँसंग छुट्न चाहन्नँ,” उनले भनिन्।

उनले नेकपा (बहुमत) पार्टी नेतृत्वसमक्ष पटक- पटक मौखिक तथा लिखित उजुरी दिएको बताएकी छन्। उनले पार्टी संयोजक धर्मेन्द्र वास्तोलासमक्ष समेत आफ्नो समस्या राखेको तर अपेक्षित सुनुवाइ नभएको गुनासो गरेकी छन्। पार्टीभित्र छलफल भए पनि ठोस निर्णय वा न्यायिक पहल नभएकाले आफू निराश बनेको उनले बताइन् ।

यस विषयमा नेकपा (बहुमत) का नेताहरूले भने यसलाई पूर्ण रूपमा पारिवारिक विषयका रूपमा व्याख्या गरेका छन्। पार्टीका प्रतिनिधि उदय बहादुर चलाउनेका अनुसार घरायसी विवादलाई पार्टीले सहजीकरण मात्र गर्न सक्ने र अन्तिम निर्णय सम्बन्धित व्यक्तिहरूको व्यक्तिगत अधिकारभित्र पर्ने विषय हो।

‘पार्टीमा आएको उजुरी घर झगडालाई पार्टीले सहजीकरण गरिदेओस भन्ने थियो । हामीले बसेर यो विषय टुङ्ग्याउन खोजेका पनि हौँ । छलफलमा बस्ने पनि हो । हामीले उहाँको म्याडमलाई ‘तपाईको श्रीमानले राम्रो गर्नु हुन्न भन्ने लाग्छ भने तपाईले डिभोर्स गर्नुस,’ पनि भनेका छौँ । उहाँलाई यो गर्न अधिकार छ । हामी त्यही भएर जनयुद्ध लडेका हौँ । उहाँको ब्यक्तिगत कुरा पार्टीको लिडरसंग सोध्ने होइन । यो पारिवारिक कुरा हो,’ प्रवक्ता चलाउने भने ।

उनले भने, ‘यदि श्रीमान-श्रीमती मिल्न नसक्ने अवस्था छ भने सम्बन्ध विच्छेद गर्ने अधिकार उनीहरूलाई छ। यो व्यक्तिगत विषय हो, पार्टी नेतृत्वसँग सोधिने विषय होइन।’ उनका अनुसार पार्टीमा उजुरी परेको विषय पनि घरझगडालाई सहजीकरण गर्ने उद्देश्यले मात्र आएको हो र समाधानका लागि छलफल गरिएको हो।

यसैबीच, पराजुलीले अदालतमा दायर गरेको फिराद पत्रमा भने श्रीमती घरमा नबस्ने, छोराछोरीको हेरचाह नगर्ने, निरन्तर राजनीतिक दबाब दिने तथा “गुण्डा प्रयोग गरी कुटपिट गराएको” जस्ता आरोपहरू उल्लेख गरिएको छ। यस विषयमा प्रतिकृया लिन खोज्दा आरोपी पराजुली सम्पर्कमा आएनन् ।

जनयुद्धकालीन समयमा भएका अन्तरजातीय विवाहहरू ‘समाज परिवर्तनको प्रतीक’ का रूपमा प्रस्तुत गरिए पनि पछिल्ला वर्षहरूमा यस्ता धेरै सम्बन्धहरू विघटन भएको देखिन्छ। यस घटनाले फेरि एक पटक ‘जनवादी विवाह’को सामाजिक वैधता, स्थायित्व र पछिल्लो राजनीतिक जीवनमा यसको प्रभावबारे बहस सुरु भएको छ।

 

सिफारिस