थवाङ जीप दुर्घटनाः एकै परिवारका ७ जनाको मृत्यु, सिस्ने गाउँ शोकमा डुब्यो

दियोपोस्ट संवाददाता  

काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिका-१ जलजला क्षेत्रमा बिहिबार भएको जिप दुर्घटनामा ज्यान गुमाउनेमध्ये एउटै परिवारका ७ जना रहेका छन् । रुकुमपूर्वको सिस्ने गाउँपालिका-५ टाकुराका एकै परिवारका ७ जनाको मृत्यु भएपछि गाउँ नै शोकमग्न बनेको छ ।

मृतकहरू एउटै परिवारका दुई दाजुभाइका परिवारका सदस्य रहेको जनाइएको छ । दाजुको परिवारबाट उनका छोरा, बुहारी, श्रीमती र नाति गरी ४ जनाले ज्यान गुमाएका छन् भने भाइको परिवारबाट श्रीमती, छोरी र छोरा गरी ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३२ वर्षिय गोरख बहादुर बुढाथोकी, ५३ वर्षिया तीलकुमारी बुढाथोकी, २८ वर्षिय युवा बुढाथोकी, १० वर्षिय दिव्यन बुढाथोकी, २४ वर्षिया सृजना बुढाथोकी, १३ वर्षिय सुदिप बुढाथोकी र ४० वार्षिया ओम कुमारी बुढाथोकी रहेका छन् । उनीहरु एकै परिवारका रहेको वडा अध्यक्ष बस्नेतले जानकारी दिए ।

वडा अध्यक्ष बीरेन्द्र बस्नेतका अनुसार दुर्घटनामा ज्यान गुमाउने २० जनामध्ये ९ जना दाङका, ९ जना सिस्ने-५ टाकुराका र २ जना भूमे गाउँपालिका-५ का रहेका छन् ।

रुकुमपूर्वबाट थवाङ गाउँपालिका-१ जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप बिहीबार दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा १२ जना महिला, ४ जना पुरुष र ४ जना बालकले ज्यान गुमाएका छन् ।

दुर्घटनामा रुकुमपूर्व सिस्ने गाउँपालिका-५ का ३२ वर्षीय समिर कामी घाइते भएका छन् । उनलाई राति नै अस्पताल पुर्‍याएर उपचार सुरु गरिएको छ ।