महाकाली नदी किनारबाट सशस्त्र प्रहरी जवानसहित दुई जना बेपत्ता, खोजी तीव्र

दियोपोस्ट संवाददाता  

काठमाडौँ । डडेल्धुराको परशुराम नगरपालिका-५ स्थित महाकाली नदी किनारबाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी)मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहका अनुसार उनीहरू शुक्रबारदेखि सम्पर्कविहीन भएका थिए। प्रारम्भिक जानकारी अनुसार दुवै जना नातामा मामा-भान्जा पर्ने बुझिएको छ।

नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेकाले उनीहरू महाकाली नदीमा बगेको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ। घटनापछि सुरक्षाकर्मी परिचालन गरी खोजी कार्यलाई तीव्र पारिएको छ।

डीएसपी सिंहका अनुसार प्रहरी तथा अन्य सुरक्षा निकायले सम्भावित सबै स्थानमा खोजतलास जारी राखेका छन्।

सिफारिस