रोजन गुरुङमाथि सहकारीको आवरणमा ‘मिटरब्याज धन्दा’ चलाएको आरोप: ओस्कार सहकारीको रकम दुरुपयोग !

दियोपोस्ट संवाददाता  

काठमाडौं । ओस्कार बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक एवं कोषाध्यक्ष रोहन गुरुङले सहकारीको रकम व्यक्तिगत रूपमा मिटरब्याजमा लगाउने गरेको तथ्य फेला परेको छ। काठमाडौं–६, सरस्वतीनगरमा कार्यालय रहेको यस सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम कोषाध्यक्ष गुरुङले विभिन्न व्यक्तिलाई मिटरब्याजमा लगाउने र पीडितहरूबाट आफ्नो नाममा चेक काट्न लगाउने गरेको पाइएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंमा दर्ता भएको एउटा उजुरीमा तथ्य र प्रमाणसहित गुरुङको नाम किटानी गरेरै यो धन्दा सञ्चालन गर्ने गरेको खुलाइएको छ। पीडित महेश चालिसेले गुरुङले आफूलाई सहकारीको रकम मिटरब्याजमा दिएको र रकम फिर्ता माग्दा आफ्नो व्यक्तिगत नाममा चेक काट्न लगाएको उजुरीमा उल्लेख गरेका छन्।

सुपर सिल नेपाल प्रा.लि.का प्रतिनिधि रहेका उनले रोहन कुमार गुरुङ कोषाध्यक्ष रहेको ओस्कार सहकारीबाट २५ लाख रुपैयाँ ऋण लिएका थिए। सो रकमको सुरक्षणका लागि भन्दै प्रमाण स्वरूप सुपर सिल नेपाल प्रा.लि.को नाममा दुई वटा चेक काट्न लगाइएको थियो।

सुपर सिल नेपाल प्रा.लि.को नाममा रहेको आईसिएफसी फाइनान्स लिमिटेडको खाताबाट साटिने गरी उनले रोजन कुमार गुरुङको नाममा चेक दिएका थिए। २०७९ जेठ २० गतेको मितिमा जारी गरिएको चेक सुरक्षणका लागि मात्र भन्दै गुरुङले लिएका थिए। अर्को चेक भने पीडित चालिसेलाई श्याम बहादुर घिसिङ तामाङको नाममा काट्न लगाएपछि सोही मितिमा थप २० लाख रुपैयाँको चेक पनि बुझाइएको थियो।

सहकारीको रकम दिएपछि गुरुङले घरायसी कागजसमेत गराएका थिए। तर, त्यो कागजात अहिलेसम्म पनि गुरुङले फिर्ता नगरेको पीडित चालिसेले उजुरीमा उल्लेख गरेका छन्। रकम फिर्ता गर्ने क्रममा गुरुङले नगदै बुझाउनुपर्ने सर्त राखेपछि चालिसेले कार्यालयमै गएर नगद रकम फिर्ता गरे पनि गुरुङले सुरक्षणमा राखेका चेकहरू फिर्ता नगरेका कारण अहिले चालिसे बैंकिङ कसुरको मुद्दा लाग्ने त्रासमा छन्।

‘अहिले उल्टै थप १३ लाख रुपैयाँ नगद दिए मात्र चेक र कागज फिर्ता दिन्छु, नत्र दिन्न भन्दै धम्कीपूर्ण र गैरकानुनी माग राखिरहेका छन्,’ उनले उजुरीमा भनेका छन्, ‘निज रोहन कुमार गुरुङले यस्तै कार्य अरू धेरै व्यक्तिहरूलाई समेत दोहोर्‍याएको जानकारी पाएकाले यस्तो ठगी, आर्थिक शोषण, गैरकानुनी रकम माग र कागजात रोक्का राखेर दबाब सिर्जना गर्ने तथा धम्कीपूर्ण गतिविधि विरुद्ध आवश्यक अनुसन्धान गरी कानुनी कारबाही गर्न अनुरोध गर्दछु।’

यस विषयमा प्रतिक्रिया लिँदा सहकारीका सञ्चालक तथा कोषाध्यक्ष गुरुङले चालिसेको हकमा आफूले अदालतमा मुद्दा हालेको र फैसलासमेत आफ्नो पक्षमा भई कार्यान्वयनको तहमा पुगेको दाबी गरे।

सिफारिस